काठमाण्डाै – फिफा विश्वकप फुटबलको ‘राउन्ड अफ ३२’ मा आज राति ब्राजिल र जापान खेल्दैछन् । यो खेल राति पौने ११ बजे अमेरिकाको हस्टन रङ्गशालामा शुरू हुनेछ ।
दुवै टोली अपराजित रहँदै नकआउट चरणमा पुगेका हुन् । ब्राजिल समूह ‘सी’ को विजेता र जापान समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । ब्राजिलले समूह चरणमा स्कटल्यान्ड र हैटीलाई हराउँदै मोरक्कोसँग बराबरी खेलेको थियो । जापानले समूह चरणमा ट्युनिसियालाई हराएको थियो भने स्वीडेन र नेदरल्यान्ड्ससँग बराबरी खेलेको थियो ।
विश्वकपमा ब्राजिल र जापानबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा ब्राजिलले जापानलाई ४–१ ले हराएको थियो ।
ब्राजिल ५ पटकको विश्व विजेता हो । ब्राजिलले पछिल्लो पटक सन् २००२ मा जापान र दक्षिण कोरियामा भएको विश्वकपको उपाधि जितेको थियो । जापान भने अहिलेसम्म प्रिक्वाटरफाइनलबाट अगाडि पुग्न सकेको छैन ।
सन् २०२५ को अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा जापानले ब्राजिललाई ३–२ ले हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो । घरेलु मैदानमा भएको खेलमा २ गोलले पछि परेको जापानले उत्कृष्ट पुनरागमन गरेको थियो ।
यो खेलको विजेताले प्रिक्वाटरफाइनलमा आइभरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग खेल्नेछ ।
विश्वकपको ‘राउन्ड अफ ३२’ मा भोलि बिहान सवा २ बजे ४ पटकको विजेता जर्मनी र पाराग्वे खेल्दैछन् । यो खेल अमेरिकाको बोस्टन रङ्गशालामा हुनेछ ।
जर्मनी समूह ‘ई’ को विजेता र पाराग्वे तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बन्दै नकआउटमा पुगेका हुन् ।
विश्वकपमा जर्मनी र पाराग्वेबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् २००२ मा भएको विश्वकपमा जर्मनीले पाराग्वेलाई १–० ले हराएको थियो ।
विश्वकपको ‘राउन्ड अफ ३२’ मा भोलि बिहान पौने ७ बजे नेदरल्यान्ड्स र मोरक्को खेल्दैछन् । यो खेल मेक्सिकोको मोन्टेरी रङ्गशालामा हुनेछ ।
नेदरल्यान्ड्स समूह ‘एफ’ को विजेता र मोरक्को समूह ‘सी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् ।
विश्वकपमा नेदरल्यान्ड्स र मोरक्कोबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा नेदरल्यान्ड्सले मोरक्कोलाई २–१ ले हराएको थियो ।