काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव भएपछि पार्टी अध्यक्ष हर्कराज साम्पाङले कडा प्रतिक्रिया दिएका छन्।
साम्पाङले आफू मन्दिरको गेटसम्म नपुग्दै फर्किएको उल्लेख गरेका छन्। आफूभन्दा पनि आफ्ना समर्थकहरूमाथि भएको दुर्व्यवहारलाई अपमानका रूपमा लिएको उनले बताएका छन्।
‘म बाटैमा थिएँ। म गेटमा पुगेको थिइनँ। तर श्रमदातालाई अपमान गर्नु नै मलाई अपमान गर्नु हो,’ उनले लेखेका छन्।
उनले आफूलाई गरिने हरेक अपमानप्रति धन्यवाद व्यक्त गर्दै सबै देवीदेवता र भगवानप्रति सम्मान प्रकट गरेका छन्।
साम्पाङले जानकी मन्दिर परिसरमा आफ्ना समर्थकमाथि दुर्व्यवहार भएको दाबी गर्दै त्यसकै कारण आफूले मन्दिर दर्शन गर्न नसकेको बताएका छन्। ‘कुनै दिन जानकी देवीले दर्शन दिनुहोला, म आशावादी छु,’ उनले उल्लेख गरेका छन्।
उनले गाईको विषयलाई लिएर राजनीति गर्न खोजिएको आरोप पनि लगाएका छन्। ‘गाई कसले खाएको रहेछ ? गाई खानेलाई मन्दिरमा पस्न नदिने भनेको देखेँ, यो कसले कस्तो राजनीति गर्न खोजेको रहेछ?’ भन्दै उनले प्रश्न उठाएका छन्।
यसअघि मंगलबार जनकपुरधाममा साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर परिसर पुगेका श्रम संस्कृति पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले त्यहाँबाट हटाएपछि दुई पक्षबीच तनाव उत्पन्न भएको थियो।
साम्पाङ पार्टीको साधारणसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए। मन्दिर दर्शनको तयारी भइरहेका बेला उनका समर्थक र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच विवाद भएको थियो।
हिन्दु सम्राट सेनाले साम्पाङले विगतमा गाईसम्बन्धी विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाउँदै उनको जनकपुर आगमनको विरोध गरेको थियो। समूहले उनलाई जानकी मन्दिर प्रवेश गर्न नदिने चेतावनीसमेत दिएको थियो।
घटनापछि साम्पाङले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन बन्द रहेको दाबी गर्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। घटनाका कारण जानकी मन्दिर आसपास केही समय तनावको अवस्था सिर्जना भएको थियो।