काठमाण्डाै – असार १५ गते भइसक्दा पनि मधेश प्रदेशमा ४ दशमलव ३६ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार मधेश प्रदेशमा धान रोपाइँ हुने कुल ३ लाख ८७ हजार ९३३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म १६ हजार ९ ११ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
महोत्तरीमा सबैभन्दा धेरै ८ दशमलव १७ प्रतिशत रोपाइँ भएको छ । धनुषा र बारा दुवै जिल्लामा ७ प्रतिशत प्रगति छ भने सिरहा र सप्तरीमा ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सर्लाहीमा २ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ । पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाइँ शुरू हुन सकेको छैन । अहिले वर्षा भइरहेका कारण अब धान रोपाइँले गति लिने किसानहरू बताउँछन् ।
यसैबीच आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । कृषि प्रधान नेपालमा धानको महत्त्वलाई आत्मसात् गर्दै सरकारले असार १५ गतेलाई धान दिवसका रूपमा मनाउने गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाइँ र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरेका छन् । यस वर्षको दिवसको मुख्य नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ ।
नेपाली समाजमा असार १५ लाई ‘दही–चिउरा’ खाने पर्वका रूपमा समेत लिइन्छ । मानो रोपेर मुरी फलाउने यो महत्त्वपूर्ण समयमा किसान दिनभर खेतको काममा व्यस्त हुने र ऊर्जाका लागि दही–चिउरा खाने मौलिक परम्परा रहिआएको छ ।
आजका दिन किसानले हिलो खेल्दै, असारे गीत गाउँदै र धान रोप्दै हर्षोल्लासका साथ यो उत्सव मनाइरहेका छन् ।