बर्दिबास । गत कार्तिक १७ गते चोरीको बाइकसँगै इलाका प्रहरी कार्यालय बर्दिबासले चार जनालाई पक्राउ गर्यो । बाइक नम्बर थियो मधेस प्रदेश ०२–००६–३४०७ नम्बरको २०० सिसीको टिभिएस । यातायात कार्यालयमा भएको रेकर्ड हेर्दा यो नम्बर स्कुटीमा दर्ता रहेको रहेछ ।
बाइकसँगै अमृत कुमार महत्तो, बिरेन्द्र कुमार महत्तो, उपेन्द्र कुमार महत्तो र संजिव कुमार महत्तो पक्राउ परे । १७ गते पक्राउ परेकामध्ये बिरेन्द्र, उपेन्द्र र संजिव गरी ३ जना भोलिपल्ट १८ गते छुटे । अमृत कुमार महत्तोलाई अभद्र व्यवहारमा मुद्दा चलाएर सिडिओ कार्यालयबाट छुटाउने काम भयो । चोरीको बाइक देखाइएन । अहिले उक्त बाइक इलाका प्रहरी कार्यालय परिसरमै रहेको छ । यो बाइक सई हरिशंकर यादवले पक्राउ गरेका हुन् । उनी मुद्दा शाखाका हुन् ।
मुद्दा शाखामा चेक बाउन्सको निवेदन दिने र त्यसको फरफारक भयो भने १० प्रतिशत अनिवार्य मुद्दा शाखामा बुझाउनुपर्ने हुन्छ । अन्यथा पहिले नै निवेदन दर्ता हुँदैन । यस्तो खुलेआम भ्रष्टाचार हुने गरेको छ ।
यस्ता कुरा प्रदेश प्रमुख डिआइजीसमक्ष पुग्दैनन् । इलाका प्रहरी कार्यालयका डिएसपी विकास बमले सई विश्व बुढाथोकीलाई घुमुवा रूपमा परिचालन गरेका छन् । पर्सा दरबन्दी भएका सई बुढाथोकीलाई दरबन्दीमा रमाना नगरी डिएसपी बमले घुमुवा रूपमा परिचालन गरेका छन् । डिएसपी बम र सई बुढाथोकी असई हुँदा एउटै ब्याचका भएकाले बमले बुढाथोकीलाई दरबन्दीमा त पठाएनन्, घुमुवा मात्र बनाएनन्, सबै आर्थिक कारोबार पनि उनै बुढाथोकीलाई नै जिम्मा दिएका छन् । सई बुढाथोकीको घर पनि यही सर्लाहीमै हो ।
त्यसैगरी ठाडो उजुरी शाखामा जिम्मेवारी लिएका असई कालसिंह लामाको धन्दा पनि त्यस्तै रहेको छ । न्याय होइन, पहिले लेनदेनको कुरा मिलेपछि मात्र उजुरी दर्ता हुन्छ, अन्यथा सेवाग्राहीले सेवा पाउने अवस्था छैन ।
यस बाहेक बर्दिबासमा सबैभन्दा बढी वेश्यावृत्तिको धन्दा व्यापक रहेको छ । केही होटल, लज, गेस्टहाउस मात्र होइन, खाजाघर र भोजनालयको बोर्ड झुण्डिएको भए पनि यहाँ घण्टे धन्दा व्यापक हुन्छ । मसाज सेन्टरका नाममा खोलिएका केही केन्द्रहरूमा खुलेआम वेश्यावृत्ति हुने गरेको छ । डान्स रेस्टुरेन्टको कुरा गर्ने हो भने त नाङ्गो नृत्य नै हुन्छ । यस्तो धन्दा गर्ने र गराउनेहरू खुलेआम भन्छन्— “प्रहरी सबै मिलाएको छ, केही हुँदैन, कोही आउँदैन ।”
त्यति मात्र होइन, गाँजा, क्रसर र जुवाका अखडाबाट समेत यहाँको प्रहरीले खुलेआम रकम असुली गर्ने गरेको छ । धेरै विवाद भए पछि र गुनासो तथा उजुरीहरू माथिल्लो निकायमा पुगेपछि मात्र छापा हान्ने, पक्राउ गर्ने नाटक हुने गर्छ । तर भोलिपल्टदेखि फेरि त्यही धन्दा निरन्तर चल्ने गर्छ ।
यसरी बर्दिबासको प्रहरी बदनाम भएको अवस्थामा पनि न त जिल्ला प्रहरी कार्यालयले, न त मधेस प्रदेश प्रहरी कार्यालयले नै छुट्टै टोली पठाएर छापा हान्ने गरेको छ, न त उजुरीहरू उपर छानबिन र कारबाही नै ।