अमेरिकालाई पछि पार्दै चीनको सुपर कम्प्युटर बन्यो विश्वकै शक्तिशाली

1.8k Shares

काठमाण्डौ - चीनको एक सुपर कम्प्युटरले विश्वकै सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरको उपाधि हासिल गरेको छ ।

यससँगै झण्डै एक दशकदेखि कायम रहेको अमेरिकाको प्रभुत्व अन्त्य भएको छ । यस्तै स्वदेशी प्रविधिमार्फत अत्याधुनिक कम्प्युटिङ क्षमता विकास गर्ने चीनको प्रयास थप बलियो बनेको छ । जर्मनीको ह्याम्बर्गमा आयोजित प्रमुख कम्प्युटिङ सम्मेलन ‘आइएससी’ २०२६मा सार्वजनिक गरिएको चर्चित शीर्ष पाँच सयको सूचीमध्ये ‘लाइनशाइन’ नामक चिनियाँ प्रणाली शीर्ष स्थानमा पुगेको हो ।

सन् २०१७ पछि पहिलो पटक कुनै चिनियाँ सुपर कम्प्युटरले यो सूचीको नेतृत्व गरेको हो । सन् १९९३ देखि वर्षमा दुई पटक सार्वजनिक हुँदै आएको शीर्ष पाँच सय सूचीलाई विश्वका कम्प्युटिङ शक्तिको अनौपचारिक प्रतिस्पर्धात्मक सूचकका रूपमा हेरिन्छ । लाइनशाइनले यसअघिको शीर्ष स्थानमा रहेको अमेरिकी ऊर्जा विभागअन्तर्गतको ‘एल क्यापिटन’ सुपर कम्प्युटरलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

चिनियाँ सहर शेन्जेनमा रहेको यो मेसिनले निरन्तर कार्यसम्पादनमा दुई दशमलव दुई एक्साफ्लप्स गति हासिल गरेको छ । एक्साफ्लप्सले कम्प्युटरले एक सेकेन्डमा गर्न सक्ने गणनाको सङ्ख्या मापन गर्छ । यद्यपि अमेरिका अझै पनि शीर्ष चारमध्ये तीन स्थानमा रहेको छ ।

क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर राष्ट्रिय प्रयोगशाला मा रहेको एल क्यापिटन दोस्रो स्थानमा छ । युरोपमा जर्मनीको जुपिटर बुस्टर प्रणालीले शीर्ष पाँचमा स्थान बनाएको छ ।  

 

 

सम्बन्धित समाचार