दुःखबाट मुक्त हुनु भ्रमको पर्दा च्यातिनु नै हो

19.3k Shares

हरिराम महर्जन ‘ठेचो’

भ्रममुक्त ः दुःखबाट मुक्त हुनु भ्रमको पर्दा च्यातिनु नै हो । मानिसमा जागरुकता भ्रममुक्त अवस्था हो । मानिसल इन्द्रियको गुणलाई बुझ्न नसक्नुको कारण इन्द्रियको अनियन्त्रित भ्रममा पर्नु दुःखको कारण हो । हामीले दुःखबाट मुक्त हुन भ्रमबाट मुक्त हुनु जरुरी छ । त्यसको लागि भ्रमलाई बुझ्नु अति आवश्यक हुन्छ । भ्रम भनेको गलत बुझाइ हो, अज्ञानता हो । कतिपय अवस्थामा देखेको कुरा पनि सत्य हुँदैन तर त्यसैलाई सत्य मानेर त्यसैको पछाडि लाग्नु भ्रम हो । जस्तोः समथर जमिनमा बराबर उचाईका केही दुरीमा सिधा गरी गाडेका अम्बाहरूलाई सामुन्नेबाट हेर्दा सबभन्दा अगाडिको खम्बा सबैभन्दा लामो र सबभन्दा पछाडिको खम्बा सबैभन्दा छोटो देखिन्छ । त्यसैअनुसार मानिसले अगाडिको खम्बा लामो र पछाडिको खम्बा छोटो भनेर विश्वास गर्छ र व्यवहार पनि त्यस अनुसार गर्छ । वास्तवमा खम्बाहरूको उचाई फरकफरक छैन । मानिसहरू कर्मको भ्रममा, धर्मको भ्रममा, भगवानको भ्रममा, नातासम्बन्धको कारण भ्रममा पर्छन् । आफूसँग गलत हुनुको कारण, आफ्नो नोक्सान हुनुको कारण अथवा दुःखको कारण आफूलाई देख्दैनन् र बाहिरकै कारण अथवा अरू नै कारण देख्छन् । यो मानिसको अज्ञानता हो, भ्रम हो । आफ्नो दुःखको कारण अरूलाई देख्ने व्यक्ति कहिले पनि सुखी हुन सक्दैन । उ कहिल्यै पनि दुःखबाट मुक्त हुन सम्भवै हुँदैन किनभने अरूको परिवर्तन उसको वशमा छैन । समस्या उब्जनु, रोगी हुनुमा कोही कर्मको लेखा, कोही भगवानको लीला भनेर विश्वास गर्छन् । कोही धनमा सुख देख्छन्, कोही नाता सम्बन्धमा सुख देख्छन् । भ्रम यहि हो । मानिस भ्रममै जीवन बिताउँछन् । 

विद्वानहरू भन्नुहुन्छ, ‘संसारमा मान्छेहरू दुई किसिमले बाँच्ने गर्छन् । जागृत या भ्रम, सार्थक या निरर्थक ।’ यसैलाई कोही दर्शनशास्त्रीहरू मालिक र दासको संज्ञा दिन्छन् । कोही जीवनको कुनै मतलब नै नगरी बाँच्छन्, कोही अर्थपूर्ण जीवन बाँच्ने प्रयास गर्छन् । जागृत र भ्रमयुक्त जीवनशैलीलाई अहिलेको समयमा सकारात्मक प्रवृत्ति र नकारात्मक प्रवृत्ति भन्ने गरिन्छ । धार्मिक ग्रन्थहरूमा यसैलाई दैवी र आसुरी प्रकृतिको जीवन भन्ने गरिएको छ । भागवत गीतामा कृष्ण भन्नुहुन्छ, ‘संसारमा मानव दुई किसिमले बाँच्छन्, अन्तर्मुखी र बहिर्मुखी । अन्तर्मुखी दुःखको कारण आफूभित्र खोज्छन् । बहिर्मुखीहरू दुःखको कारण आफू बाहिर खोज्छन्, भौतारिन्छन् । हे निस्पाप अर्जुन, अन्तर्मुखी भएर कर्म गर । यो नातासम्बन्ध बहिर्मुखी सोचबाट मुक्त भएर सोच ।’ कृष्णको यो भनाइले पनि के बुझ्नसक्छौँ भने अन्तर्मुखी सोच भ्रममुक्त अवस्था हो भने बहिर्मुखी सोच भ्रमयुक्त सोच हो । धेरै मानिस बहिर्मुखी भएर भ्रममै बाँच्छन् । धेरै थोरैमात्र अन्तर्मुखी अर्थात जागृत भएर बाँच्ने गर्छन् । भ्रम प्रमाद हो । प्रमाद पूरै बेहोशीपन हो । जीवनको सारबाट धेरै टाढा । मानिसलाई पलपलमा धोखा, पलपलमा दुःख, मात्र असन्तोष उत्पन्न भइरहेको हुन्छ । ऊ एक किसिमको जिउँदो मूर्दा जस्तै हुन्छ । मानिस इच्छा र आशक्तिको नियन्त्रणमा बाँच्छन्, इन्द्रियको प्रभावमा बाँच्छन् । यसैमा सुख प्राप्तिको प्रयत्न गर्छन्, आनन्दको खोजी गर्छन् । यो मनुष्यको भ्रम हो । वास्तवमा मानव जीवन भ्रमको पर्याय नै हो भन्दा फरक नपर्ला । भ्रमग्रस्त जीवन निरर्थक जीवन हो ।

निर्देशित र नियन्त्रित जीवन दास जीवन हो । दासको अर्थ हो परिचालित अथवा परनिर्भरता । दासत्वमा आफ्नोे निर्णयको कुनै स्थान हुँदैन, त्यसमा परनिर्णय मात्र हावी हुन्छ । संसारमा मानवमानव बिचको प्रतक्ष्य दासत्व त धेरै अघि नै अन्त भैसक्यो । मान्छेहरू अप्रत्क्षय रूपमा दासत्वबाट मुक्त हुन सकेको छैनन् । सबैभन्दा ठूलो दासत्व, आन्तरिक दासत्व हो । यही दासत्वमा धेरै मान्छेहरू बाँच्छन् अनि दासत्वमै अन्त हुन्छन् । यही दासत्वको अनुभूति नहुनु, ज्ञात नहुनु बेहोशीपन हो । दासत्वलाई स्विकार गरी बाँच्नु प्रमाद हो । हामी हाम्रो इच्छा, आकांक्षा, कामनाको दास हौँ । इन्द्रियको दास, संवेदनाको दास हौँ । हामीमाथि सधैँ यिनीहरूकै प्रभाव चलिरहेको हुन्छ । जीवनमा कहिले कुन रूपमा त कहिले कुन रूपमा यिनीहरू हावी भइरहन्छन् । यिनीहरूको चाहना र निर्देशन अनुरूप जीवन बितिरहेको हुन्छ । मन परे पनि नपरे पनि, ठिक लागे पनि नलागे पनि, चाहे रोउन चाहे हाँसुन्, यसरी मानव पलपल अन्तर दासत्वमा बाँचिरहेका हुन्छन् । मानिसले यहि दासत्वभित्र खुसी खोज्छ, सुखी खोज्छ, आनन्दको खोजीमा भाँैतारिन्छ । 

महाभारतको एउटा प्रसङ्ग जोडौँ । महाभारतमा अर्जुनको रथमा कृष्ण सारथी थिए । कृष्ण भ्रममुक्त चेतना हो, अर्जुन भ्रमयुक्त अचेतना हो अनि युद्ध मुक्तिको मार्ग हो, समस्या समाधानको उपाय हो । यदि कृष्णले अर्जुनलाई उचित मार्गनिर्दशन नगरेको भए, उचित समयमा उचित हतियार प्रयोगको ज्ञान नदिएको भए निश्चय नै जित अर्जुनको पक्षमा हुनै सक्दैनथ्यो । यदि अर्जुन सारथी भएर कृष्ण रथमा भएको भए महाभारत युद्ध कस्तो हुन्थ्यो होला ? निश्चय नै मुक्ति सम्भव थिएन । धेरैपटक अर्जुन दिग्भ्रमित भए तर हरेकपल्ट कृष्णले अर्जुनलाई भ्रममुक्त गरे । अर्जुन भ्रममा डुबेर यतिसम्म कमजोर भए की उनी हतियार उठाउन समेत असमथ्र्य भए । अर्जुन ज्ञानको तहसम्म मात्र थिए भने कृष्ण ज्ञानी थिए । अर्जुन भ्रममा अलमलिन्थे भने कृष्ण स्पष्ट थिए । कृष्ण पाण्डवहरूको पथप्रदर्शक, निर्देशक, नियन्त्रक थिए भने पाण्डवहरू कृष्णको आदेश पालनकर्ता मात्र थिए । यसरी नै जब मान्छेमा अन्तरचेतनाको नियन्त्रणमा सबै इन्द्रियहरू चल्न थाल्छन्, तब मानिस सम्पूर्ण भ्रमबाट मुक्त हुन्छ । अर्जुन इन्द्रिय हुन् भने कृष्ण चेतना हुन् । तर विडम्बना हामी इन्द्रियको दास बन्छौँ । हामी इन्द्रियको इच्छा अनुरूप व्यवहार गर्छौं । यसैलाई हामी सत्य मान्छौँ । यहि भ्रमको कारण मान्छेले प्राप्तिको चाहना राख्छन् । सम्पत्तिको चाहना, सन्तानको चाहना, शक्तिको चाहना, ऐश्वर्यको चाहना, सुन्दरताको चाहना, सबैसबै प्राप्तिको चाहना गर्छन् । मानिसले जति प्राप्त गर्छन् ती सबै मेरो सम्झन्छन् । मेरोको अर्थ अरू कसैको हक नलाग्नु हो । सन्तान मेरो, गाडी मेरो, घर मेरो, सम्पत्ति मेरो, जागिर मेरो, कुर्सी मेरो, सबैसबै नै मेरोमेरोको भावना पाइन्छ । जुन चिज सधैँ आफूसँग रहँदैन त्यो कसरी आफ्नोे हुन्छ ? जुन चिज क्षणभरमा आफूबाट छुट्टिन्छ, नासिन्छ, अर्काको हुन्छ, त्यो कसरी आफ्नो हुन्छ ? यही भ्रमका कारण मान्छेहरू कहिले लोभमा डुब्छन्, कहिले अतृप्त तृष्णामा छट्पटिन्छन्, कहिले मोहमा भुल्छन् त कहिले क्रोधमा होश गुमाउँछन्, कहिले ईष्र्यामा जल्छन् । जीवनमा उल्टो गतिले दुःखबाट मुक्ति कसरी सम्भव हुनसक्छ ? धेरै मान्छेहरू यही भ्रममा बाँच्छन् । सुखको आशा गर्दागर्दै जीवन दुःखमै समाप्त हुन्छन् । त्यसैले विद्वानहरू भन्छन् ‘संसारमा आफ्नोे भन्ने कुनै पनि चिज छैन । हिजो कसैले मेरो भनेको चिज आज हामीले आफ्नोे भन्दै छौं, त्यसैलाई भोलि अरूले मेरो भन्ने छन् । किनभने यी सबै चिजहरू तपाईँ जन्मनुभन्दा अघि देखिनै थियो, तपाईँपछि पनि रहनेछ । मान्छे रित्तो जन्मन्छ, रित्तै मर्छ । आफ्नो जन्मसँगै जन्मिएको र मृत्यसँगै समाप्त हुने मात्र आफ्नो हुन्छ । मान्छेसँग प्राण (शरीर) र मृत्यु मात्र मेरो भन्ने हुन्छन् । जुन जन्मसँगै जन्मन्छन् र मृत्युसँगै समाप्त हुन्छन् । त्यसैले जुन चिज आफ्नो होइन्, त्यसको मोह छोड्नुस् । नासिने, मासिने, छुट्टिने चिजको प्राप्तिमा घमण्ड छोड्नुस । ईष्र्या, द्वेष, राग त्याग्नुस् । आफ्नो जीवन र मृत्युलाई स्विकार गर्नुस् । जागरुक हुनुस् । सत्यलाई बुझ्नुस् । भ्रमको पर्दा च्यातेर दासत्वबाट मुक्त हुनुस् र जीवनलाई सार्थक बनाउनुस् । 

जीवनको अर्थलाई आत्मसात गरी बाँच्ने जागरुक अवस्था सारयुक्त जीवन हो । भ्रममुक्त जीवन पुरै होशहवासमा बाँच्ने जीवन हो । यो अन्तर्मुखी जीवन हो, हरपल सुखद अनुभव, सन्तुष्ट जीवन हो । आफ्नो जीवनको मालिक आफै भई बाँच्ने तरीका मालिकको जीवन हो । जीवनमा कुनै प्रभाव, कुनै दबाबबिना पूर्णतया स्वतन्त्र अवस्थाको जागृत अवस्थामा बाँच्ने तरीका नै उत्तम तरिका हो । जीवनमा आफूबाटै नियन्त्रित अवस्था मालिक अवस्था हो । यो सुखद जीवन हो, आनन्दित र सुन्तुष्ट जीवन हो । यसमा कसैको आशिर्वाद न कुनै भगवानको वरदान चाहिँदैन । आफ्नो जीवनको उज्यालो ढोका आफै खोल्न सक्षम जीवन, इच्छाआकांक्षा, कामनामाथिको नियन्त्रणको जीवन, इन्द्रियहरूको प्रभावहिनताको जीवन, समग्रमा भ्रममुक्त जीवन हो । यति चर्चा गरिसक्दा अवश्य पनि भ्रम नै सार्थक जीवनको बाधा रहेछ भन्ने कुरा बुझ्न कठिन भएन । वास्तवमा भ्रम नै दुःखको कारण हो । चिन्ता, भय, ईष्र्या, काम, क्रोध, लोभ, मोह, अहंकार जस्ता विकारहरु भ्रमकै कारण धेरै प्रभावित हुन्छन् र त्यसको दास बन्न पुग्छन् अनि जीवनभर दुःख पाउँछन् ।

यसै सम्बन्धमा एउटा प्रसङ्ग छ । एउटा मरुभूमिका व्यापारी सय उँट लिएर मरुभूमिको यात्रामा निस्कियो । अँध्यारो भएपछि बाटोमा बास बस्न तयारी भयो । उसले ऊँटहरू सबैलाई किला ठोकेर बाँधेर सुतायो । एउटा उँटलाई बाँध्न किला र डोरी पुगेन । उसको किला र डोरी हराएछ । व्यापारीलाई राती उँटको सुरक्षा कसरी गर्ने भनेर चिन्ता भयो । उसले बास बस्ने घरको बुढो साहुसँग गएर समस्या राख्यो र किला र डोरीको सहयोगको लागि अनुरोध ग¥यो । बुढोले गएर किला ठोक्नु अनि डोरीले बाँध्नु भनेर हल्का रूपमा भन्यो । किला र डोरी नभएर त भनेको ? व्यापारीले समस्या राख्यो । त्यसको जवाफमा बुढोले ‘मैले कहाँ किला लगेर ठोक्नु र डोरीले बाँध्नु भनेको हो र ? किला ठोके जस्तो गर्नु अनि उँटलाई डोरीले बाँधेको जस्तो गर्नु केही फरक पर्दैन, जाऊ ।’ बुढोको पागलपन कुरा सुनेर व्यापारीलाई अनौठो लाग्यो र ‘यो कस्तो मूर्ख कुरा हो ?’ भनेर मनमनै प्रश्न ग¥यो । बुढोले ‘तिमी धेरै मूर्ख नबन, भने अनुसार खुरुक्क गर, जाऊ ।’ बुढोले निर्धक्क भनिरह्यो । व्यापारीको कुनै सीप नलागेपछि बाहिर उँटको छेउमा आएर उँटलाई हेर्न थाल्यो । सबै ऊँट सुतिसकेका थिए तर त्यहि एउटा मात्र उभिरहेको थियो । व्यापारीले बुढोले भनेजस्तै किला ठोके जस्तै आवाज मात्र के निकालेको थियो, ऊँट बस्न थाल्यो अनि उसले डोरीले बाँधेको जस्तो गरी सुतायो । उँट सुत्न थाल्यो । चमत्कार जस्तै भयो, कस्तो अनौठो जुक्ति ! ऊ बुढोको जुक्तिलाई सम्झेर अचम्मित भयो । भोलिपल्ट बिहान व्यापारीले एकएक गर्दै सबै उँटको डोरी खोल्दै किला निकाल्दै उठाउन थाल्यो । उही उँट जसलाई डोरीले बाँधेकै थिएन, त्यो ऊँटलाई जति उठाउन खोजे पनि उठ्दै उठेन । व्यापारीले उँटलाई ठेलेर, तानेर जति गरेपनि उठाउन नसकेपछि ऊ कायल भयो । त्यसपछि ऊ बुढोकहाँ बिलौना गर्न पुग्यो । बुढोले डोरी खोलिदिनु, किला निकालिदिनु, उँट आफसेआफ उठ्छ, जाऊ भनेछ । हिजोको चमत्कार सम्झेर लामो कुरा नसोचेर व्यापारीले किला निकालेको जस्तै आवाज दियो । ऊ उँटको डोरी खोलेजस्तै गर्न थाल्यो । उँट जुरुक्क उठ्यो र हिँड्नको लागि तयार भयो । व्यापारी यो देखेर चकित भयो । हिजो अँध्यारोमा त उँट झुक्योझुक्यो तर आज उज्यालोमा पनि भ्रममा प¥यो । बुढोलाई उँटको विषयमा धेरै जानकारी रहेछ भनि प्रशंसा ग¥यो । व्यापारीको कुरा सुनेर बुढोले भन्यो ‘होइन, मैले उँटको विषयमा केही जानेको छैन, बल्कि मान्छेको चरित्रको बारेमा जे बुझेको छु, त्यसैलाई यहाँ प्रयोग गरेको हुँ’ भनी जवाफ दियो । बेहोशीमा बाँच्ने मानिसहरूको वास्तविकता खोज्ने संस्कार नै बन्दैन् । अँध्योरामा मात्र होइन, दिनको उज्यालोमा पनि भ्रम देख्छन । जिन्दगी नै भ्रममा बाँच्नेहरूकोे जिन्दगी मानौँ या नमानौँ पशुसरह नै हुन्छ । यो प्रसङ्गको मूल मर्म भनेकै भ्रम हो । (किन पुस्तकबाट) क्रमशः 


सम्बन्धित समाचार