स्वीजरल्यान्डमा अमेरिका र इरानबीचको शान्ति वार्ता शुरु हुँदै

1.1k Shares

काठमाण्डौ - अमेरिका र इरानबीच स्वीजरल्यान्डमा उच्चस्तरीय शान्ति वार्ता शुरु हुन लाग्दा मध्यपूर्वको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गको अवस्थाबारे दुवै देशबीच तीव्र विवाद देखिएको छ ।

इरानले इजरायली आक्रमणको विरोधमा जलमार्ग बन्द गरिएको दाबी गरे पनि अमेरिकाले त्यसलाई अस्वीकार गर्दै व्यापारिक जहाजहरू निरन्तर आवतजावत गरिरहेको जनाएको छ ।

रोयटर्सका अनुसार आजदेखि स्वीजरल्यान्डमा अमेरिका इरान उच्चस्तरीय प्रतिनिधिमण्डलबीच वार्ता शुरु हुँदैछ । इरानी टोलीको नेतृत्व विदेशमन्त्री अब्बास अराघची र प्रमुख वार्ताकार मोहम्मद बाघेर कालिबाफले गरेका छन् भने अमेरिकी टोलिको नेतृत्व उपराष्ट्रपति जे.डी. भान्ससहित अन्य विशेष दूतहरू सहभागी छन् । शान्ति वार्तामा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र पाकिस्तानी सेनाप्रमुख असीम मुनी पनि पुग्नुभएको छ । स्वीजरल्यान्डमा हुन लागेको वार्तालाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ हेरेका छन् ।

यसैबीच अमेरिकी सेन्ट्रल कमान्डका अनुसार हिजो मात्रै ५५ वटा व्यापारिक जहाज हर्मुज जलमार्ग हुँदै सुरक्षित रूपमा आवतजावत गरेका छन्, जसले तेल आपूर्तिमा कुनै अवरोध नभएको खबरमा उल्लेख छ । तर इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स ले लेबनानमा इजरायली गतिविधिको विरोध गर्दै जलमार्ग नजिक जहाजहरूलाई जोखिममा पार्न सकिने चेतावनी दिएको छ । आजको वार्ताको मुख्य एजेन्डा परमाणु कार्यक्रम, लेबनानमा जारी तनाव र अस्थायी युद्धविराम कार्यान्वयन रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेशकियनबीच हालै भएको अस्थायी सम्झौता कार्यान्वयनमा दुवै पक्षको ध्यान केन्द्रित छ । अमेरिका–इरान वार्ताबाट मध्यपूर्वमा दीर्घकालीन स्थायित्व र ऊर्जा आपूर्ति सुरक्षित हुने अपेक्षा गरिएको छ, तर हर्मुज जलमार्गको विवादले शान्ति वार्ता चुनौतीपूर्ण बन्दै गएको छ ।

सम्बन्धित समाचार