काठमाण्डौ - बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ? ख्याल गर्नुहोला यस्ता घटना अहिले नेपालमा भइरहेका छन् । त्यस्ता ठगीबाट बच्न विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध छ ।
हालै काठमाण्डौमा यस्तै घटना सार्वजनिक भएको छ । आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनी अङ्ग्रेजी भाषामा बोली प्रिन्स तामाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहारसमेत नदेखाई कुराकानीपछि पीडितलाई विवाह गरी अमेरिका लैजाने प्रलोभन देखाएर ठगी भएको घटना बाहिरिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार उनले आफ्नो बहिनी भन्दै सरगम तामाङको ह्वाट्स एपमा कुराकानी गर्न लगाई पटक पटक गरी १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको हो । पीडितले दिएको निवेदनका आधारमा प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट खुल्न आएका प्रिन्स तामाङ भन्ने सञ्जीव नेपाली र बहिनी सरगम तामाङ भएर कुराकानी गरी ठगी गर्ने कार्यमा संलग्न उनकै श्रीमती अनुष्का भन्ने सरिता पराजुली रहेको खुलेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
ब्युरोबाट खटिएको प्रहरी टोलीले स्याङ्जा घर भई काठमाण्डौको माछापोखरी बस्ने नेपाली र पराजुलीलाई मङ्गलबार पक्राउ गरी विद्युतीय माध्यम सम्बद्ध ठगी अपराध अनुसन्धान गरिरहेको छ ।