काठमाण्डौ - वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्याइएको छ ।
हिजो दिउँसोदेखि रथ तान्न शुरु गरेर बेलुकी जावलाखेल पुर्याइएको हो । रथलाई हिजो जावलाखेल पुर्याइएपछि अब पर्सि शनिवार भोटो जात्रा मनाइन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।
त्यसैसँग यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको वैशाख २४ गते ज्योतिषहरूले हिजोको साइत निकालेका थिए । यस वर्ष रथजात्रा गएको वैशाख ५ गते मूर्तिलाई रथमा रथारोहण गरेर ८ गतेदेखि रथ तानेर शुरु भएको हो ।
रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो ।