‘आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुन्छ’

848 Shares

काठमाण्डौ – काठमाण्डौको चन्द्रागिरी नगरपालिका–५ बस्ने ज्ञानेन्द्र सापकोटा घर वरीपरी फुटबल खेलिरहनु हुन्छ । अरू बेला फुटबल खेल्ने, हेर्ने गरे पनि हरेक ४/४ वर्षमा आउने विश्वकपको माहोल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ । ‘अहिले विश्वकपको रौनक बढेको छ, सबैले आ–आफ्नो मन पर्ने टोलीको जर्सी लगाएर फुटबल हेर्दा रमाइलो लाग्छ,’ ज्ञानेन्द्र भन्नुहुन्छ, ‘यो बेला जर्सीको सेट, जुत्ता र फुटबल किनेर खेल्दा मनोरञ्जन हुन्छ ।’ 

नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेलपे्रमी धेरै छन् । आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ । ‘आफ्नो शरिरको स्वास्थ्यका लागि खेलकुद महत्त्वपूर्ण हुन्छ,’ उहाँ भन्नुहुन्छ,‘नेपाल विश्वकप खेल्ने देश नभए पनि यहाँ फुटबल प्रेमी धेरै छन् । अरू देशले खेलेको हेरेर, सिकेर अघि बढ्दै गए हामी पनि विश्वकपमा पुग्न सफल हुनेछौं भन्ने आशा छ ।’ 

शहरमा मात्रै होइन विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ । यतिबेला खेल सामग्री बेचबिखन हुने पसलमा अहिले जर्सी तथा बलका लागि खेलप्रेमी पुगिरहेका छन् । फुटबल प्रेमीहरू विशेषगरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन् । ‘अहिलेको विश्वकप पहिलेभन्दा केही फरक छ, नयाँ टोली, नयाँ खेलाडीहरुको समावेशले प्रतियोगितामा थप रौनकता थपेको छ, काठमाण्डौको नैकापबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ,’ भन्नुहुन्छ, ‘सानैदेखि फुटबल खेल्ने भएर होला हरके चार वर्षमा एक पटक आउने विश्वकपमा रङ्ग लाग्छ ।’ 

विश्वकप नजिकिँदै जाँदा युवाहरू मात्र होइन, बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन् । अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इंग्ल्यान्डका जर्सीको माग बढेको व्यवसायीहरू बताउँछन् । केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहोलसँगै चलायमान भएको बताउनुहुन्छ, व्यवसायी लक्ष्मी श्रेष्ठ । ‘विश्वकप खेल्ने फुटबल टोलीको जर्सीको व्यापार पहिले जस्तो त छैन तर हुँदै नभएको पनि होइन, ठीकठीकै छ व्यापार,’ उहाँ भन्नुहुन्छ, ‘नवयुवा आन्दोदन पछि खेलकुदका सामग्रीको किनबेच कम भएको थियो तर अहिले विश्वकप आएपछि व्यापारमा केही सुधार हुँदै गएको छ । 

फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप–२०२६ यहि बिहिवार रातिदेखि शुरू हुँदैछ । ४८ टोली सहभागी हुने यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप मानिएको छ । विश्वभर फुटबलको रौनकसँगै नेपालमा पनि त्यसको उत्साह र चहलपहल देखिन थालेको हो । 

सम्बन्धित समाचार