काठमाण्डाै – सरकारले गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रसम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले म्याद थप गरेको सरकार प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनीकुमार पोखरेललाई प्रहरी नायब महनिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ओजोन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि गरिएको सम्झौता स्वीकृत गरेको छ ।
बैठकले सुरक्षा निकाय, प्रशासनिक संरचना तथा आयोगसम्बन्धी विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ । यस्तै भूमि व्यवस्थापनसँग सम्बन्धित समस्या समाधानका लागि गठित समितिमा बलभद्र बास्कोटा अध्यक्ष तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पद्मनिति सोतिल र डा. रोहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।