काठमाण्डौ - सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले विज्ञप्ति निकालेर राज्य कोषको रकमबाट बचत फिर्ता गरिएको भन्ने गुनासो तथा भ्रम सृजना भएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
समितिका अनुसार समस्याग्रस्त घोषित २० सहकारीका १० हजार रुपैयाँ भन्दा कम बचत माग दाबी भएका साना बचतकर्ताको बचत फिर्ताको कार्य चरणबद्ध रूपमा भइरहेको छ । तर अहिलेसम्म चक्रीय कोष स्थापना भने भएको छैन ।
समितिका अनुसार समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।
मन्त्रिपरिषद्को गएको चैत १३ गतेको बैठकबाट स्वीकृत एक सय कार्य सूचिको बुँदा–९९ मा भएको व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत रहने गरी ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ ।
समितिले कर्जा असुलिलाई प्राथमिकता दिई काम गरिरहेको र सम्बन्धित सहकारीका ऋणीबाट असुल भएको रकम जुन सहकारी हो त्यही सहकारी संस्थाका बचतकर्तालाई फिर्ता गरिरहेको जनाएको छ ।