नेपालमा विकासका मुद्दाबारेको सम्मेलन आयोजना

587 Shares

काठमाण्डौ - नेपालमा विकासका समसामयिक मुद्दाहरूबारे दुई दिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । 

त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुर, काठमाण्डौमा आइतबार र सोमबार सम्मेलन गरिएको हो । सम्मेलनमा विकासका विभिन्न मुद्दामा प्रस्तुत कार्यपत्र र अनुसन्धान पत्रमाथि विमर्श भएको थियो । सम्मेलनको समापन गर्दै त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुबिनन्द ढकालले सम्मेलन विकास फलदायी भएको भन्दै अन्य विभागले पनि यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिनुभयो । 

सम्मेलनमा प्रा.डा. प्रेमसागर चापागाईँले विश्वव्यापीकरण, पर्यावरण र नेपालको अवस्थाबारे प्रस्तुतीकरण गर्दै विकासमा यो विषयलाई सँगसँगै लिएर जानुपर्ने बताउनुभयो । सम्मेलनको दोस्रो दिन हिजो आयोजित प्यानल छलफलमा पूर्व राजदूत तथा विभागका संस्थापक प्रा.डा. महेन्द्रप्रसाद सिंह, सिनासका कार्यकारी निर्देशक प्रा.डा. मृगेन्द्रबहादुर कार्की र पाटक संयुक्त क्याम्पसका उपप्राध्यापक डा. नीति अर्यालले ग्रामीण विकासको नेपाली मोडल बनाउने सिद्धान्त प्रतिपादन गर्नुपर्नेमा जोड दिनुभयो । 

छलफलको सहजीकरण गर्दै विभागीय प्रमुख सहप्राध्यापक डा. सुमन खरेलले विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सके पनि रोजगारी सुनिश्चित गर्न सक्ने अवस्था नरहेको र आर्थिक पक्ष राज्यसँग जोडिएको हुँदा बजारको माग अनुरूप रोजगारी सिर्जनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा २० वटा कार्यपत्र तथा अनुसन्धान पत्रमाथि छलफल भएको थियो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका ग्रामीण विकास विभागहरूको सहकार्यमा त्रिवि ग्रामीण विकास केन्द्रीय विभागले सम्मेलनको आयोजना गरेको हो ।

सम्बन्धित समाचार