ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, ओलीको अडान कायमै

1.1k Shares

काठमाण्डौ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टी भित्रबाट दबाब बढेको छ । 

हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन् । उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका हुन् । 

अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू चार उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने बताएका छन् । सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिनुभएको छ । 

तर ओलीले आफ्नाविरुद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ । नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाफ दिनुभएको हो । यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनुभएको छ । हिजो सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई ‘अतिरञ्जित’को संज्ञा दिनुभयो ।

बैठकमा महासचिव, तीन उपमहासचिव र पाँच सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका उहाँको भनाइ थियो । अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमान्डमा पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको उहाँले बताउनुभयो । 

अस्ति शुक्रबारदेखि शुरु भएको एमाले सचिवालय बैठक आज पनि बस्दैछ । 

 

 

सम्बन्धित समाचार