काठमाण्डौ — हिजो र अस्तिको वर्षाका कारण अवरुद्ध बिपी राजमार्ग खुलाउने प्रयास चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हिजो सडक खुलाउने काम भइरहँदा फेरि पानी परेपछि सडक अवरुद्ध भएको हो ।
पानी नपरे बेलुकीसम्म सडक खुल्न सक्ने सम्भावना रहेको काभ्रे प्रहरीेले जनाएको छ । अहिले साना गाडीहरु भकुण्डे हुँदै मंगलटारको साँघुरोबाटो हुँदै सञ्चालन भइरहेका छन् । अरु गाडीहरु दोलखा हुँदै खुर्कोट निस्केर ओहोरदोहोर गरिरहेका छन् ।
अस्ति शनिबार दिउँसो वर्षा शुरु भएलगत्तै सम्भावित जोखिमलाई ध्यान दिंदै सडक बन्द गरिएको थियो । रोशी खोलामा आएको बाढीले कटुन्जे/मङ्गलटार सडकका विभिन्न ठाउँमा करिब चार किलोमिटर डाइभर्सनमा क्षति पुर्याएको छ ।
गएको चैत तेस्रो हप्ता यसै क्षेत्रका विभिन्न ठाउँका चार किलोमिटर सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । गएको सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।