सक्कलीभन्दा नक्कली सुकुम्बासी बढी

94 Shares

काठमाडौं । सरकारले थापाथली, गैरीगाउँ र मनोहरास्थित खोला किनाराको सुकुम्बासी बस्ती खाली गरेको छ । ती बस्तीहरूमा ४० परिवारका १४१ जनाभन्दा बढीलाई सुकुम्बासी बस्तीबाट हटाएको हो । भवनमा सक्कलीभन्दा पनि नक्कली सुकुम्बासीको संख्या अधिक रहेको थियो । हिजो सुकुम्बासी बस्ती खाली गर्दा सो तथ्याङ्क मेल खायो । अर्थात् वास्तविक सुकुम्बासीको संख्या अत्यन्तै न्यून थियो । सम्भवतः राजधानीका सबै क्षेत्रमा वास्तविक सुकुम्बासीको संख्या सय बढी ननाघ्ने अनुमान गरिएको छ । भक्तपुरको मनोहरा क्षेत्रमा भने शनिबार साँझ तनाव सिर्जना भएपछि बस्ती खाली गर्न रोकिएको छ । सुकुम्बासीको ढुंगा प्रहारबाट केही सुरक्षाकर्मी घाइते भएक छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार तीन सुरक्षा निकाय प्रमुखलाई बस्ती खाली गर्न निर्देशन दिनुभएको थियो । लगत्तै शुक्रवार बिहानै माइकिङ गरी शनिवारबाट हटाइएको हो । यसअघि २०७९ मंसिर १२ मा कामनपाले थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न खोज्दा असफल भएको थियो ।
त्यसबेला कामनपा प्रहरी र सुकुम्बासीबीच खाली गराउने प्रयास हुँदा झडप भएको थियो । राजनीतिक दलको आड पाएका र वर्षौंदेखि बसिरहेका सुकुम्बासी बस्ती सरकारले खाली गर्न सकेन । हिजो शनिवार तीन स्थानमा शान्तपूर्वक खाली गरेको हो ।
नेपाल प्रहरीले घर खाली गराएपछि कामनपा प्रहरीले सफा गरेको थियो भने आश्रय नभएका बच्चा, ज्येष्ठ नागरिक, अपाङ्गता भएकालाई सुरक्षित व्यवस्थापन गरेको थियो । बस्ती खाली गर्नेक्रममा सामान्य झडप भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेकाले तत्काल स्थिति नियन्त्रणमा आएको थियो । लगत्तै नेपाल प्रहरीले बस्तीमा रहेका घरको सामान सार्न सहयोग गरेको थियो ।
सामान सारेलगत्तै सहरी विकास मन्त्रालय र कामनपाका आधा दर्जन डोजरले भत्काउन सुरु गरेका थिए । थापाथलीमा सक्कलीभन्दा पनि नक्कली सुकुम्बासीको संख्या अत्यधिक रहेको थियो । बस्ती खाली गरेलगत्तै वास्तविक सुकुम्बासीको नाम दर्ता गराउन आग्रह गरेको थियो । तर, अधिकांश डेरा खोजेर सरिसकेका थिए । नगन्यले मात्र सुकुम्बासीको नाम दर्ता गराएका थिए ।
काठमाडौं महानगरपालिका प्रहरी बल प्रमुख विष्णुराज जोशीले बस्ती हटाउन कुनै समस्या नभएको बताए। बिहीबार साँझबाट माइकिङ गरेलगत्तै शुक्रवार दिनभर अधिकांशले आफैं घर खाली गर्न थालेका थिए । उनले भने– ‘सेल्टरमा राखिएका सबैलाई खाने र बस्ने व्यवस्था महानगरले गरेको छ । कुनै समस्या छैन ।’ उनले वास्तविक सकुम्बासी पहिचान गरी उनीहरूलाई स्थायी वासस्थानका रूपमा इचंगु आवासमा लैजाने जानकारी दिए ।
प्रधानमन्त्री शाहको सचिवालयले वास्तविक सुकुम्बासीलाई एक महिनाभित्र स्थायी रूपमा बसोबास व्यवस्था गर्ने तयारी थालेको छ । सहरी विकासमन्त्री सुनील लम्सालले स्थान उपलब्ध गराउने विषयमा छलफल जारी राखेका छन् ।
कामनपाले काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए), वागमती सभ्यता एकीकृत विकास समितिले सुकुम्बासी भएको भनिएकाको नाम दर्ता गराएका थिए । प्राधिकरणका विकास आयुक्त जानुका ढकालले २९ जनाले सुकुम्बासी भएको प्रमाणसहित नाम दर्ता गराएको जानकारी दिनुभयो । उनीहरू वास्तविक सुकुम्बासी हुन् कि होइनन् भन्ने विषयमा अनुसन्धान गर्न बाँकी रहेको विकास आयुक्त ढकालको भनाइ थियो । प्रमाणीकरण गर्नेक्रममा जम्मा १३ परिवारलाई राधाश्वामी सत्सङ्ग भवनमा २९ र ६ परिवारलाई दशरथ रंगशालामा राखिएको छ । यसअघि प्रतिरोधमा उत्रिएका बस्तीका स्थानीयले यसपटक भने चुपचाप आफ्ना सामान सारेका थिए ।
शुक्रवार प्रधानमन्त्री बालेनले आफ्नो फेसबुक पेजमा बर्खाको बेला आएको बाढीले बस्ती डुबान पारेको तस्बिर राख्दै सुकुम्बासीको उचित व्यवस्थापन गरिने र हालको बस्ती खाली गर्न सहयोग गर्न अपिल गरेका थिए। आफू कामनपाको मेयर हुँदा हटाउन नसकेको बस्ती प्रधानमन्त्री भएपछि खाली भएको छ । थापाथली र सिनामंगलको बस्ती खाली गराएको र मनोहरा, सिनामंगललगायतका क्षेत्रमा रहेका बस्ती हटाउने योजना रहेको महानगर प्रहरीबल प्रमुख जोशीले बताए । प्रधानमन्त्रीको सचिवालयले सुकुम्बासी बस्तीहरू हटाउने क्रममा साइटमै सुकुम्बासीको व्यवस्थापन र राहत उपलब्ध गराएका थियो । प्रम कार्यालयको निर्देशनमा सबैलाई खाना र खाजाको व्यवस्था थियो ।
शनिवार बिहानैदेखि कार्यक्षेत्रमा खटिएको टोलीले बस्ती हटाउने कार्यसँगै तत्कालको खानाको व्यवस्थापन गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । सरकारले शनिवार र आइतबार खाली गराइएका सुकुम्बासी बस्तीमा वास्तविक सुकुम्बासीलाई कीर्तिपुरको सत्सङ्गको ठूलो भवन, भक्तपुरस्थित बोडेमा कृषि विकास बैंकको तालिम केन्द्र, भक्तपुरको खरीपाटी र चाँदबागमा सरकारी भवन र खाली जग्गा पनि अस्थायी बसोबासको व्यवस्था गरिने जनाएको छ । योजनाअनुसार पहिलो चरणमा सुन्दरीघाटस्थित सत्सङ्ग भवनमा राखिएको छ । अन्यलाई कसरी व्यवस्थापन गर्नेलगायत विषयमा छलफल जारी छ ।
अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले २०७९ काठमाडौंका २० वटा वडाका २७ स्थानमा सुकुम्बासी बस्तीमा ३ हजार ४ सय ९६ घरधुरी रहेको तथ्याङ्क सार्वजनिक गरेको थियो । समितिले धोबीखोला, वागमती, विष्णुमती, बालाजुलगायतका क्षेत्रबाट सुकुम्बासी बस्ती हटाएको थियो । खोला किनारामा बसोबास गर्नेमध्ये करिब १० प्रतिशतमात्र सुकुम्बासी रहेको तथ्याङ्क छ ।

 

सम्बन्धित समाचार