राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

558 Shares

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच भेट भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन त्यहाँ पुगेका उनीहरुबीच भेट भएको हो ।

 भेटमा उनीहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए ।

 सो क्रममा अष्ट्रेलियाका सभामुख मिल्टनले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्द्रपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत बन्ने बताएका थिए। 

भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका तर्फबाट राष्ट्रियसभाका सदस्यहरू कृष्णबहादुर रोकाया र डा. अञ्जान शाक्य तथा राष्ट्रियसभा सचिव तुलबहादुर कँडेललगायत सहभागी थिए ।

सम्बन्धित समाचार