आईएईए प्रमुखकाे चेतावनी– ‘उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्ने क्षमता बढाइरहेको छ’

558 Shares

काठमाण्डाै – अन्तर्राष्ट्रिय आणविक निगरानी निकायका प्रमुखले उत्तर कोरियाको आणविक हतियार उत्पादन क्षमतामा ‘धेरै गम्भीर वृद्धि’ भइरहेको चेतावनी दिएका छन् । पछिल्ला निरीक्षण र मूल्याङ्कनले उत्तर कोरियाको संवर्द्धन तथा पुनः प्रशोधन गतिविधि तीव्ररूपमा बढिरहेको देखाएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसीले दक्षिण कोरियाको राजधानी सियोलमा आज पत्रकार सम्मलन गर्दै उत्तर कोरियाले आणविक हतियार विकासतर्फका प्रमुख संरचनाहरू सक्रिय रूपमा विस्तार गरिरहेको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था ‘एएफपी’ ले जनाएको छ । उहाँकाअनुसार यो परिवर्तनले उत्तर कोरियाको रणनीतिक क्षमता उल्लेखनीय रूपमा बढिरहेको सङ्केत गर्छ ।

दक्षिण कोरियाको गुप्तचर निकायकाअनुसार कूटनीतिक रूपमा अलग रहेको उत्तर कोरियाले युरेनियम संवर्द्धनका लागि धेरै सुविधाहरू सञ्चालन गरिरहेको अनुमान छ जुन आणविक हतियार निर्माणको अत्यन्त महत्त्वपूर्ण चरण हो । तीमध्ये योङब्योन परमाणु स्थल पनि समावेश छ जसलाई उत्तर कोरियाले अघिल्ला वार्तापछि निष्क्रिय बनाएको दाबी गरेको थियो तर सन् २०२१ मा पुनः सक्रिय भएको अनुमान छ ।

उत्तर कोरियाले सन् २००६ मा पहिलो आणविक परीक्षण गरेयता लगातार आणविक कार्यक्रम विस्तार गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रतिबन्धहरूका बावजुद उत्तर कोरियाले आणविक हतियार कहिल्यै नत्याग्ने बताउँदै आएको छ ।

यसैबीच उत्तर कोरियाको आणविक विकासमा रुसको सम्भावित भूमिकासम्बन्धी प्रश्नमा आईएईएका महानिर्देशक ग्रोसीले अहिलेसम्म त्यसबारे कुनै मजबुत प्रमाण नभेटेको बताउनुभयो ।

यद्यपि विश्लेषकहरूकाअनुसार उत्तर कोरियाले युक्रेनमा रुसको सैन्य अभियानलाई समर्थन गर्न सैनिक र तोपखाना सहयोग पठाएको छ भने त्यसको बदलामा उताबाट सैन्य प्रविधि सहायता प्राप्त गरिरहेको आशङ्का छ । यस्तो पृष्ठभूमिमा उत्तर कोरियाको आणविक कार्यक्रम थप संवेदनशील अन्तर्राष्ट्रिय मुद्दा बनेको देखिन्छ ।

सम्बन्धित समाचार