बिर्तामोडमा घुमुवा प्रहरीको असुली, तस्करी र यौन धन्धाको जालो

1.9k Shares

झापा, बिर्तामोड — इलाका प्रहरी कार्यालय (इप्रका) अनारमनीमा कार्यरत सहायक हवल्दार डम्बर दाहालमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन्। स्थानीय बासिन्दा, व्यवसायी तथा प्रहरी स्रोतहरूका अनुसार दाहाल पछिल्लो एक वर्षदेखि बिर्तामोड क्षेत्रमा सादा पोशाकमा खटिएर असुली, तस्करी तथा अवैध गतिविधिको संरक्षणमा सक्रिय रहेको जनगुनासो व्यापक बन्दै गएको छ।

स्थानीय स्रोतका अनुसार दाहालको “सेटिङ” मा सीमावर्ती क्षेत्रबाट अवैध रूपमा सामान भित्र्याउने कारोबारी, यौनजन्य गतिविधि सञ्चालन गर्ने होटल व्यवसायी तथा जुवा–तास खेलाउने समूहहरू सुरक्षित रूपमा सञ्चालन हुँदै आएका छन्।बिर्तामोड बसपार्क क्षेत्रका करिब दुई दर्जन होटलहरूमा खुलेआम यौनजन्य गतिविधि भइरहँदा पनि प्रहरीको कारबाही कमजोर हुनुको कारण यही सेटिङ रहेको दाबी गरिएको छ।एक स्थानीय व्यवसायी भन्छन्,“हामीले पैसा नदिए, मदिरा नखुवाए वा उसको माग पूरा नगरे अनेक बहाना बनाएर दुःख दिन्छ। कहिले पक्राउ गर्ने धम्की, कहिले छापा मार्ने त्रास देखाउँछ।”

स्रोतका अनुसार दाहालले बसपार्क क्षेत्रका होटलहरूबाट मासिक रूपमा प्रति होटल करिब ४ हजार रुपैयाँ असुल गर्दै आएका छन्।यसरी महिनैपिच्छे ठूलो रकम उठाएर अवैध गतिविधिलाई संरक्षण दिने गरेको आरोप छ।त्यति मात्र होइन, पक्राउ परेका व्यक्तिहरूलाई समेत ‘मोटो रकम’ लिएर छाड्ने गरिएको आरोप प्रहरी वृत्तमै चर्चाको विषय बनेको छ।

केही दिनअघि बिर्तामोड बसपार्कस्थित आसेङ होटलमा यौनजन्य गतिविधि सञ्चालन गरेको आरोपमा सञ्चालक पदम तामाङ पक्राउ परेका थिए।तर, आश्चर्यजनक रूपमा उनलाई एक दिन नबित्दै छाडिएको थियो।स्रोत भन्छ,“यो सामान्य प्रक्रिया होइन, दाहालकै सेटिङमा ठूलो रकम लिएर छुटाइएको हो।”तर, सोही प्रकरणमा पक्राउ परेका अन्य व्यक्तिहरू भने अझै हिरासतमा राखेर अनुसन्धान भइरहेको छ, जसले प्रहरीभित्रै विभेदपूर्ण व्यवहार भएको संकेत गर्दछ।

दाहालमाथि अर्को गम्भीर आरोप भनेको उनले आफ्ना वरिष्ठ प्रहरी अधिकारीहरूलाई समेत बेवास्ता गर्ने गरेको हो।प्रहरी स्रोतका अनुसार उनले असई, सई, वरिष्ठ सईदेखि प्रहरी निरीक्षकसम्मलाई टेर्न छाडेका छन् र आफूलाई नै “डिएसपी सरह” ठान्ने व्यवहार देखाउने गरेका छन्।उनले आफ्ना सहकर्मी घुमुवा प्रहरीहरूलाई समेत विभिन्न आरोप लगाएर हैरान बनाउने गरेको बताइन्छ।

बिर्तामोड इप्रकाका डीएसपी विजय श्रेष्ठसँगको निकट सम्बन्धकै कारण दाहालको प्रभाव बढेको आरोप छ।उनको दरबन्दी इलाम भए पनि उनी अनारमनीमा काज सरुवा भएर आएका छन्।स्रोतका अनुसार उनले डीएसपीलाई गलत सूचना दिएर आफु भने असुली र मोजमस्तीमा लिप्त रहने गरेका छन्।स्थानीय व्यवसायीहरूका अनुसार दाहाल प्रायः राति अबेरसम्म बिर्तामोडका होटल तथा डान्सबारहरूमा रमाइलो गर्न पुग्ने गर्छन्।ड्युटी समयमा नै व्यक्तिगत सवारी प्रयोग गरेर कार्यक्षेत्र बाहिर घुम्ने, मोजमस्ती गर्ने र त्यसैलाई “प्रहरी काम” भनेर ढाकछोप गर्ने गरेको आरोप छ।कार्यरत प्रहरीहरूकै भनाइ अनुसार दाहालले दिनमा ५ बट्टासम्म चुरोट र दर्जनौं रजनिगन्धा प्रयोग गर्दै “रवाफ” देखाउने गरेका छन्।उनले आफू माथिसम्म पहुँच भएको भन्दै साना–ठूला कसैलाई नटेर्ने, धम्की दिने र बिचौलिया प्रयोग गरेर सहकर्मीहरूलाई समेत दुःख दिने गरेको आरोप छ।

दाहालमाथि चोरीको महँगो ‘डुक बाइक’ (म्गपभ) प्रयोग गर्ने आरोप समेत लागेको छ।उनी उक्त बाइकसहित अन्य सवारी साधन प्रयोग गरेर व्यक्तिगत काम तथा मनोरञ्जनमा जाने गरेको बताइन्छ।झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले पछिल्लो समय बिर्तामोड क्षेत्रमा भइरहेको अवैध गतिविधि र यौन धन्धामाथि कडा निगरानी र कारबाही सुरु गरेपछि यस्तो सेटिङको जालो बिस्तारै कमजोर हुन थालेको बताइन्छ।प्रहरी स्रोत भन्छ,“एसपीको निर्देशनपछि मन नलागी नलागी केही कडाइ भएको छ, तर अझै पूर्ण नियन्त्रणमा आएको छैन।”

स्थानीय व्यवसायी, नागरिक समाज र प्रहरीभित्रकै केही इमानदार अधिकारीहरूले दाहालमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्।उनीहरूले यस्तो प्रवृत्ति नियन्त्रण नगरेमा प्रहरी संगठनप्रति जनविश्वास गम्भीर रूपमा घट्ने चेतावनी दिएका छन्। 

बिर्तामोड क्षेत्रमा देखिएको यो प्रकरण कुनै एक व्यक्तिको मात्र मुद्दा होइन, यो प्रणालीभित्रको कमजोरी, शक्ति दुरुपयोग र बिचौलिया संस्कृतिको परिणाम हो।यदि समयमै छानबिन र कारबाही भएन भने यस्ता गतिविधिले कानुनी शासनलाई कमजोर बनाउने मात्र होइन, समाजमा अपराध र भ्रष्टाचारलाई झन् संस्थागत बनाउने खतरा बढ्दै जानेछ। अब प्रश्न उठेको छ , के यो “सेटिङ साम्राज्य” साँच्चै अन्त्य हुन्छ, कि फेरि पनि ढाकछोपमै सीमित रहन्छ ?

सम्बन्धित समाचार