नाकाबाट ठूलो परिमाणमा गाँजा तस्करी : रामनगर र वैरिया गाँजा तस्करीका लागि मुख्य ट्रान्जिट प्वाइन्ट

4.2k Shares

बारा ।   बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र सिम्रौनगढ आसपासबाट दैनिक रूपमा ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको गम्भीर तथ्य सार्वजनिक भएको छ। धादिङ र मकवानपुरका विभिन्न ग्रामीण भेगबाट संकलन गरिएको गाँजा दर्जनौं नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चेकपोस्ट पार गर्दै सहजै सिम्रौनगढ क्षेत्रसम्म पुर्‍याइने र त्यहाँबाट भारततर्फ तस्करी हुने गरेको विश्वसनीय स्रोतले जनाएको छ ।स्थानीय स्रोत तथा सुरक्षा निकायसँग सम्बन्धित व्यक्तिहरूका अनुसार यो अवैध धन्दा सामान्य तस्करी मात्र नभई संगठित सञ्जालमार्फत सञ्चालन भइरहेको छ, जसमा लगानीकर्ता, दलाल, भरिया, र केही सुरक्षा संयन्त्रसँगको मिलेमतो समेत रहेको आशंका गरिएको छ।
प्राप्त जानकारीअनुसार गाँजा मुख्य रूपमा धादिङ र मकवानपुरका दुर्गम क्षेत्रहरूमा उत्पादन तथा संकलन हुने गरेको छ। त्यसपछि तस्कर समूहले विशेष योजना अनुसार विभिन्न सवारीसाधन प्रयोग गर्दै ती गाँजा तराई झार्ने गर्छन्।रास्ताभर रहेका चेकपोस्टहरू पार गर्न उनीहरूले ‘सेटिङ’ मिलाउने गरेको आरोप छ। स्रोतका अनुसार केही स्थानमा पूर्व-सम्झौता अनुसार रकम लेनदेन हुने गरेको छ भने कतिपय स्थानमा प्रभावशाली व्यक्तिको पहुँच प्रयोग गरिन्छ।एक सुरक्षा स्रोतले भन्यो,“सबैलाई थाहा छ, कुन गाडी के बोकेर कहाँ जान्छ। तर ‘माथिबाट’ मिलाइएको गाडी कसैले रोक्दैन।”
सिम्रौनगढ क्षेत्र अन्तर्गत पर्ने रामनगर र वैरिया गाँजा तस्करीका लागि मुख्य ट्रान्जिट प्वाइन्टका रूपमा विकसित भएका छन्। यहाँबाट गाँजा भारततर्फ पठाउन स्थानीय बासिन्दालाई भरियाको रूपमा प्रयोग गरिन्छ।विशेष गरी आर्थिक रूपमा कमजोर समुदायका युवाहरूलाई सानो रकमको प्रलोभन देखाएर तस्करीमा संलग्न गराइन्छ। एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताए, “यहाँ धेरैलाई थाहा छ, को के गरिरहेको छ। तर विकल्प नभएपछि धेरै युवा यही काममा लागेका छन्।”
सबैभन्दा चिन्ताजनक पक्ष भनेको सीमामा खटिएका सुरक्षाकर्मीमाथि लागेको मिलेमतोको आरोप हो। स्रोतका अनुसार तस्कर समूहसँग सम्पर्कमा रहेका व्यक्तिहरूको गाँजा सजिलै पार गराइन्छ भने सम्पर्क बाहिर रहेका वा ‘सेटिङ’ नमिलेका व्यक्तिहरूको मात्र बेलाबेलामा नियन्त्रण हुने गरेको छ।यसले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको देखाउँछ।एक प्रहरी स्रोतले स्वीकार्दै भन्यो, “कहिलेकाहीँ देखाउनका लागि समातिन्छ। तर सबै रोकिएको छ भन्नु गलत हुन्छ।”
गाँजा तस्करीमा प्रहरी र तस्करबीच सम्पर्क गराउने काम केही पूर्व प्रहरी कर्मचारी तथा उनीहरूले परिचालन गरेका दलालहरूले गर्ने गरेको आरोप पनि उठेको छ। यो रूटमा पहिले कार्यरत रही अहिले अन्यत्र सरुवा भइसकेका केही व्यक्तिहरूले आफ्नो पुरानो नेटवर्क प्रयोग गर्दै तस्करीलाई सहज बनाइरहेको बताइन्छ।यसले सञ्जाल अझै बलियो र व्यवस्थित रूपमा सञ्चालन भइरहेको संकेत गर्छ।रामनगर र वैरियाबाट भारततर्फ जाने खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले सजिलै सामान ओसारपसार गर्ने गरेका छन्। रातिको समयमा, ग्रामीण बाटो र खेतबारी प्रयोग गरी गाँजा भारत पुर्‍याइन्छ।स्थानीयहरूका अनुसार कतिपय अवस्थामा भारतीय पक्षका व्यक्तिहरूसँग पनि समन्वय हुने गरेको छ, जसले यो तस्करीलाई अन्तरदेशीय सञ्जालको रूप दिएको छ।
यस अवैध गतिविधिले स्थानीय समाजमा नकारात्मक असर पारिरहेको छ। युवाहरू गलत बाटोमा लाग्ने, चोरी, हिंसा जस्ता अपराध बढ्ने र समाजमा असुरक्षा फैलिने चिन्ता व्यक्त गरिएको छ।स्थानीय अगुवाहरू भन्छन्,“आज गाँजा तस्करी छ, भोलि अझ ठूला अपराध आउन सक्छन्। अहिले नै नियन्त्रण नगरे स्थिति भयावह हुन्छ।”
यति ठूलो परिमाणमा दैनिक तस्करी भइरहँदा पनि सम्बन्धित निकायको प्रभावकारी हस्तक्षेप नदेखिनु प्रश्नको विषय बनेको छ। जिल्ला प्रहरी कार्यालय बारा तथा अन्य सुरक्षा निकायले औपचारिक रूपमा कडा निगरानीको दाबी गरे पनि व्यवहारमा त्यसको प्रभाव देखिँदैन।विश्लेषकहरूका अनुसार यस विषयमा उच्चस्तरीय छानबिन आवश्यक छ। चेकपोस्टमा खटिएका सुरक्षाकर्मीको गतिविधि निगरानी  , सम्पर्क सञ्जाल (दलाल–पूर्व प्रहरी) को पहिचान  , स्थानीय तहसँग सहकार्य  , सीमामा प्रविधिको प्रयोग (CCTV, ड्रोन) जस्ता उपाय अपनाउनुपर्ने देखिन्छ।सिम्रौनगढ क्षेत्रको गाँजा तस्करी केवल कानुनी मुद्दा मात्र होइन, यो राज्य संयन्त्रको विश्वसनीयतासँग जोडिएको विषय बनेको छ। जबसम्म ‘सेटिङ’ को जालो तोडिँदैन, तबसम्म नियन्त्रण सम्भव देखिँदैन।अब प्रश्न उठेको छ , के राज्यले यो सञ्जाल तोड्ने साहस देखाउँछ, कि तस्करीकै छायाँमा सीमावर्ती क्षेत्र बाँचिरहनेछ?

सम्बन्धित समाचार