अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदेखि तीन हप्तामा मध्यपूर्व युद्ध अन्त्य हुने बताएपछि आज विश्वभर तेलको मूल्य घटेको छ र शेयर बजार बढेको छ ।
अन्तर्राष्ट्रिय ब्रेन्चमार्क ब्रेन्ट क्रुड तेलको मूल्य आज प्रतिब्यारेल ९९ दशमलव ७८ अमेरिकी डलरसम्म झरेको थियो । यो मूल्य हिजोको तुलनामा १५ प्रतिशतभन्दा धेरैले कम हो ।
आज एशियाली शेयर बजार बढेको छ । जापानको निक्केई सूचकाङ्का ५ प्रतिशत, दक्षिण कोरियाको कोस्पी ८ प्रतिशत, हङकङको ह्याङ सेङ २ प्रतिशत र चीनको सीएसआई ३०० सूचकाङ्क १ दशमलव ७ प्रतिशतले बढेको छ ।
आजको शुरुआती कारोबारमा बेलायतको ब्लू–चिप एफटीएसई १०० १ दशमलव ८ प्रतिशतले बढ्यो । युरोपेली शेयर बजारले एशियालाई पछ्याउँदै उच्च स्थानमा पुगेका छन् । महादेशभरका ठूला कम्पनीहरूलाई ट्र्याक गर्ने युरो स्टक्स ६०० सूचकाङ्क २ दशमलव २ प्रतिशतले बढेको छ ।
हिजो अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता भए पनि वा नभए पनि दुईदेखि तीन हप्ताभित्र अमेरिका इरानबाट बाहिरिने बताउनुभएको थियो ।
यसैबीच अमेरिका–इजरायल र इरानबीचको युद्ध अन्त्यका लागि मध्यस्थता गरिरहेका चीन र पाकिस्तानले तत्काल युद्धविराम र ‘स्ट्रेट अफ हर्मुज’ खोल्नेसहितको पाँच बुँदे योजना अघि सारेका छन् । युद्ध अन्त्यका लागि आफ्नो देशले गरिरहेको पहलमा सहयोग माग्न पाकिस्तानका विदेशमन्त्री चीन पुगेपछि यो मस्यौदा तयार भएको हो ।
चिनियाँ विदेश मन्त्रालयले दुई देशबाट नयाँ प्रयासको काम भइरहेको जनाएको छ । यसअघि मौनजस्तै रहेको चीनले मध्यपूर्वमा युद्ध लम्बिएसँगै अग्रसरता बढाएको बीबीसीले जनाएको छ । पाकिस्तानले यसअघि नै कूटनीतिक पहल थालेको थियो ।
चीनसँग तेलको ठूलो भण्डारण छ र अन्य एशियाली देशको तुलनामा चीनमा तत्काल अभावको सम्भावना छैन । तर युद्ध लम्बिँदै जाँदा चीनको औद्योगिक क्षेत्रमा पनि असर पर्न सक्ने चिन्ता छ ।