धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषा मातहतमा रहेको प्रहरी चौकी जानकीमा कार्यरत वरिष्ठ सई सागर राणामाथि गम्भीर आरोप लागेको छ ।
सई राणा प्रहरी चौकी जानकीमा कार्यरत रहे पनि उनले घुमुवाको भूमिका निर्वाह गरी धनुषा जिल्ला मातहतमा पर्ने नाकामा तस्करी, हुण्डीको कारोबारलाई प्रश्रय दिँदै छायाँ धनुषा जिल्ला प्रमुखको रुपमा भूमिका निर्वाह गरेको आरोप लागेको छ ।
सई राणा प्रहरी चौकी जानकीमै कार्यरत रहे पनि उनले जिल्लाभर घुमुवाको भूमिकामा सक्रिय रहेको र उनलाई जिल्लाका प्रमुखले पनि संरक्षण गरेकै कारण छायाँ प्रमुखकै भूमिका निर्वाह गर्दै आएको बुझिएको छ ।
स्रोतका अनुसार सई राणा धनुषामा जो कोही हाकिम आए पनि हाकिमलाई विश्वासमा पारी तस्करीजन्य गतिविधि गर्न छुट पाउँदै आएका छन् । सई राणालाई घुमुवा बनाएर अवैध गतिविधि सञ्चालन गराइएको र ठूलो रकम असुली गरी माथिल्लो तहसम्म बुझाउने गरिएको आरोप छ । अत्यधिक असुली र पहुँचका आधारमा उनलाई त्यतिबेला ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको स्रोतले बताएको छ । तत्कालिन डीआईजी धिरज प्रताप सिँह मधेस प्रदेशको प्रमुख हुँदा प्रदेश मातहतका आठै जिल्लामा तस्करीको लाइन खुलाई राम्रै आर्थिक नजरना कुम्ल्याउन सफल भएको पनि धनुषा जिल्लाभरी चर्चाको विषय बनेको छ ।
भ्रष्टाचारजन्य गतिविधिमा संलग्न रहेको आरोपित सई राणा आफ्नै गृहजिल्लामा कार्यरत रहँदा पनि यस्तै गतिविधिका कारण विवादमा मुछिएपछि मधेश प्रदेशमा तानिएको जनाइएको छ । त्यसक्रममा पहुँच र प्रभावको भरमा उनी जिल्ला प्रहरी कार्यालय बारामा फर्किएर फेरि पुरानै शैलीमा ‘घुमुवा’को रूपमा अवैध धन्दा चलाएको भन्दै उजुरी परेको थियो । जसको चर्चा प्रहरी हेडक्वाटरसम्म चलेको थियो ।
लगातारको आलोचना र उजुरीपछि प्रहरी प्रधान कार्यालयले पटक–पटक ताकेता गर्दै उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय रामेछापमा फिर्ता पठाएको बताइन्छ । तर, त्यहाँ पनि विवादमा परेपछि उनी हेडक्वाटर तानिएका थिए । केही समयमै फेरि पावर र पहुँचको भरमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा भएको स्रोतको दाबी छ ।
मकवानपुरबाट पनि ‘मालदार’ ठाउँ खोज्दै धनुषा आएका सागर राणाले केही दिनमै आफ्नै गाउँका वडाध्यक्षलाई गाली–बेइज्जत तथा कुटपिट गरेको आरोप लागेपछि विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित–प्रसारित भएको थियो । उक्त घटनापछि उनीविरुद्ध मुद्दा समेत दर्ता भएको जनाइएको छ ।
सई राणाले मधेस प्रदेश प्रहरी प्रमुखलाई समेत विवादमा ल्याउने दुस्साहस गर्दै केही सञ्चारमाध्यमलाई आर्थिक नजरनाको लोभ देखाउँदै आफ्नो धन्दालाई तिव्रता दिएको मधेश प्रदेशभरि चर्चा परिचर्चा हुने गरेको छ । धनुषा प्रहरी सोर्तका अनुसार सई राणा आफू एआइजी डा.मनोज केसीको निकट भएका कारण मधेस प्रदेशबाट कसैले हल्लाउन नसक्ने बताउँदै हिँडेको स्रोतले दाबी गरेको छ ।