राजनीतिक र कानूनी प्रतिवादका लागि एमालेले ३ नेतालाई जिम्मेवारी तोक्यो

1.2k Shares

काठमाण्डौ – नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकमाथि प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको भन्दै कानूनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ प्रति निन्दा, भत्सर्ना र विरोध गरेको महासचिव शङ्कर पोखरेलले बताउनुभयो ।

बैठकले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखक पक्राउको राजनीतिक र कानूनी प्रतिवाद गर्न ३ जना नेतालाई जिम्मेवारी तोकेको छ । राजनीतिक दलहरूसँगको संयोजनको जिम्मा पार्टी उपाध्यक्ष विष्णु पौडेल, संसदीय दलहरूसँगको संवाद र संयोजन गर्ने कामको नेतृत्व पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र कानूनी प्रतिवाद गर्ने कामको संयोजन गोकर्ण विष्टले गर्ने महासचिव पोखरेलले बताउनुभयो ।

गएकाे भदौ २३ र २४ गतेको घटनासम्बन्धी गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा आज बिहानै ओली र लेखक दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वास्थ्य जाँचपछि ओली अस्पताल भर्ना हुनुभएको छ भने लेखकलाई प्रहरीले महाराजगञ्जमा रहेको प्रहरीको २ नम्बर गणमा राखेको छ । आयोगले उनीहरूलाई ३ देखि १० वर्षसम्मको कैद सजाय दिन सिफारिस गरेको छ ।

यसैबीच ओली र लेखक पक्राउ परेको विरोधमा एमालेका नेता कार्यकर्ताहरुले देशका विभिन्न ठाउँमा प्रदर्शन शुरू गरेका छन् । एमालेले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग पनि गरेको छ । 

सम्बन्धित समाचार