नेपाली कांग्रेसले निर्वाचनमा पार्टीभित्रको अन्तर्घातका कारण हार व्यहोरेको निष्कर्ष निकालेको छ।
कांग्रेसले आन्तरिक कलह, कमजोर चुनावी अभियान र मतदाताको विश्वासको कमीलाई हारको मुख्य कारण मानेको छ।
पार्टीको क्रियाशील सदस्य संख्या र प्राप्त मतको अनुपातलाई लिएर बैठकमा गम्भीर प्रश्न उठेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ। पार्टीको जारी केन्द्रीय समितिको बैठकमा चुनावी परिणामको सूक्ष्म विश्लेषण गर्दै कांग्रेसले आन्तरिक कलह र असमझदारी नै हारको मुख्य कारण रहेको ठम्याएको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेले ३ देखि ५ हजारसम्मको मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यतः आन्तरिक मतभेद र कमजोर चुनावी अभियान जिम्मेवार रहेको जानकारी दिए। कांग्रेसले ५ हजारदेखि १० हजारसम्मको ठुलो मतान्तरमा पराजित भएका क्षेत्रहरूमा भने अन्तर्घातसँगै विपक्षीले फैलाएको प्रतिकूल भाष्यलाई चिर्न नसक्नुलाई प्रमुख कमजोरी मानेको छ।
प्रवक्ता चालिसेका अनुसार कतिपय क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसप्रतिको विश्वासमै ह्रास आएको देखिएको छ। निर्वाचनका बेला पार्टीलाई रक्षात्मक बनाइएका मुद्दाहरूलाई प्रभावकारी रूपमा सामना गर्न नसक्दा ठुलो संख्यामा सिट गुमाउनुपरेको बैठकको ठहर छ।
बैठकमा पार्टीको क्रियाशील सदस्यता संख्या र प्राप्त मतको अनुपातलाई लिएर गम्भीर प्रश्न उठेको छ। ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य भएको पार्टीले जम्मा १७ लाख ५९ हजार मत पाउनु चिन्ताजनक रहेको प्रवक्ता चालिसेले बताए। एउटा सदस्यको घरमा औसत ४ जना मतदाता हुँदा पनि सोचेजस्तो मत नआउनुले पार्टीको संगठन र जनमतबिचको खाडल छर्लङ्ग पारेको छ।
९औँ महाधिवेशनमा करिब १ लाख सदस्य रहँदाको तुलनामा १४औँ महाधिवेशनसम्म आइपुग्दा सदस्य संख्या ८ लाख ७० हजार पुगे पनि मतको संख्या भने सोही अनुपातमा बढ्न नसक्नुलाई कांग्रेसले अस्तित्वसँग जोडेर हेरेको छ।
कांग्रेसले यस पटकको निर्वाचनमा आफ्नो परम्परागत भोट कुन आधारमा अन्यत्र स्थानान्तरण भयो भन्ने विषयमा गहन छलफल गरिरहेको छ। यो केवल भोटको बसाइँसराइ मात्र हो कि मतदाताको मानसिकतामै परिवर्तन आएको हो भन्ने कुरालाई केन्द्रीय समितिले गम्भीरतापूर्वक लिएको छ।
जारी बैठकमा निर्वाचनको समीक्षाका साथै नेतृत्वको कार्यशैली र सभापतिको राजीनामाका विषयमा समेत केन्द्रित रहेर छलफल भइरहेको छ। बैठकले कांग्रेसलाई पुनः सशक्त बनाएर जनतामाझ लैजाने गरी नयाँ कार्यदिशा तय गर्ने दाबी गरेको छ।