अमेरिकाको जर्जियामा विद्यार्थीको ठट्टाको क्रममा एक शिक्षकको कारले किचेर मृत्यु भएको छ।
प्रहरीका अनुसार, शिक्षक ह्युजेज विद्यार्थीहरूलाई समात्न जाँदा चिप्लिएर लडेपछि दुर्घटना भएको थियो।
१८ वर्षीय विद्यार्थी वालसविरुद्ध सवारी साधनबाट हत्याको आरोप लगाइएको छ, र परिवारले कारबाही नगर्न आग्रह गरेको छ।
वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यमा विद्यार्थीहरूले गरेको एउटा ठट्टा दुःखद दुर्घटनामा परिणत हुँदा एक जना शिक्षकको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार विद्यार्थीहरूले ‘ट्वाइलेट पेपर प्र्याङ्क’ गर्ने क्रममा ४० वर्षीय शिक्षक जासोन ह्यूजेजको कारले किचिएर मृत्यु भएको हो ।
घटना शिक्षक ह्युजेजको घरबाहिर भएको बताइएको छ । प्रहरीका अनुसार केही विद्यार्थीहरूले रमाइलोका लागि रूख र घरवरिपरि ट्वाइलेट पेपर फ्याँकेर ठट्टा गरिरहेका थिए ।
ह्युजेज विद्यार्थीहरूलाई रंगेहात समात्ने उद्देश्यले घरबाट बाहिर निस्किएका थिए । तर बाहिर निस्कँदा वर्षाका कारण भिजेर चिप्लो भएको जमिनमा उनी अचानक लड्न पुगे । त्यही बेला घटनास्थलबाट हतारिँदै भाग्न खोजिरहेका विद्यार्थीका दुईवटा कारमध्ये एकले अनायासै उनलाई किचेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार चलाइरहेका १८ वर्षीय विद्यार्थी जेडेन र्यान वालस विरुद्ध ‘भेहिकुलर होमिसाइड’ अर्थात् सवारी साधनमार्फत हत्याको आरोप लगाइएको छ । वालस र घटनामा संलग्न अन्य चार जना १८ वर्षीय युवामाथि निजी सम्पत्तिमा अनधिकृत प्रवेश र फोहोर फ्याँकेको आरोपसमेत दर्ता गरिएको छ ।
शेरिफ कार्यालयका अनुसार दुर्घटनापछि वालस र अन्य दुई विद्यार्थी लेघटनास्थलमै रोकिएर शिक्षकलाई सहयोग गर्ने प्रयास गरेका थिए । त्यसपछि आपत्कालीन सेवाका टोलीहरू घटनास्थलमा पुगेर गम्भीर घाइते ह्युजेजलाई अस्पताल पुर्याए । तर उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ ।
यस घटनापछि शिक्षकका परिवारले भने विद्यार्थीविरुद्ध कडा कारबाही नहोस् भन्ने आग्रह गरेका छन् । ह्युजेजकी पत्नी लाउरा ह्युजेजले आफ्नो पति विद्यार्थीहरूबिच अत्यन्त लोकप्रिय र प्रिय शिक्षक रहेको बताएकी छिन् । लाउरा पनि सोही विद्यालयकी शिक्षिका हुन् ।
ह्युजेजलाई उक्त प्र्याङकबारे पहिल्यै थाहा भएको र उनी विद्यार्थीहरूलाई रंगेहात समात्न उत्साहित भएर पर्खिरहेको लाउराले बताएकी छिन् । परिवारका अनुसार यो घटना जानाजान गरिएको होइन, बरु दुर्भाग्यपूर्ण दुर्घटना हो । त्यसैले जासोन ह्यूजेजको परिवारले विद्यार्थीमाथि लगाइएको ‘भेहिकुलर होमिसाइड’को आरोप हटाउन आग्रह गरेको छ ।
स्थानीय समुदाय र विद्यालयमा पनि यस घटनाले गहिरो शोक छाएको बताइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।