सप्तरी, २ माघ । संक्रान्ति पर्व विभिन्न जातजाति समुदायले छुट्टाछुट्टै तरिकाले मनाउने गरेका छन् । तराई मधेसमा मनाइने संक्रान्ति पर्वमा छोरीलाई भने विभेद गरेको पाइएको छ ।
राजविराज नगरपालिका-६ का सुमन देवले भनिन्, ´यो पर्वमा तिल, गुड, चामल, केरालाई मुछेर प्रसाद बनाइन्छ । प्रसाद कुलदेवतालाई चढाएर घरमा भएका हजुरबुबा, हजुरआमा, बुवाआमाले नाति छोरालाई सूर्य भगवानलाई साक्षी राखेर तिल तिल बहबी भन्दै पाँचदेखि सात पटक खुवाउने र छोराले ह ह भन्ने चलन रहेको छ ।' छोरी विवाह गरेर अर्काको कुलमा, अर्काको घर जाने भएकोले छोरीलाई खुवाउने चलन नरहेको देव बताउँछिन् ।
सप्तरीको राजविराज नगरपालिका वडा-१३ कि ८० वर्षिया सावित्री देवी देवले भनिन्, ´छोराको आमाबाबुलाई पाल्ने, दाहसंस्कार गर्ने जिम्मेवारी भएकोले छोरालाई उक्त प्रसाद आफ्नो हातले खुवाउने प्रचलन परापूर्व कालदेखि नै रहँदै आएको छ ।'
तिलमा रोगप्रतिरोधात्मक क्षमता बढाउने शक्ति हुनुका साथै एन्टी एक्सिडेन्ट पनि पर्याप्त मात्रामा पाउने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । धार्मिक मान्यताअनुसार तिललाई निकै शुद्ध मानिन्छ । हरेक पूजा पाठमा तिलको प्रयोग गर्ने चलन रहेको छ ।