कम्युनिस्टहरूले किन धक्का खाए ?

2.7k Shares

नेपालमा कम्युनिष्ट जनमत घट्दै गएको र यसले भविष्यमा पार्टीहरु कमजोर हुने संकेत देखाएको छ।
कम्युनिष्ट पार्टीहरुको कमजोर हुनुको कारण केपी ओलीको उदय, आन्तरिक कलह, र नयाँ विचारको अभाव रहेको देखिन्छ।
भक्तपुरमा नेपाल मजदुर किसान पार्टीको हारलाई परिवर्तनको चाहना र सहरीकरणको प्रभावको रूपमा विश्लेषण गरिएको छ।
कुनै पनि राजनीतिक दल एउटा चुनावमा कमजोर भयो भने सधैँलाई सकियो भन्न मिल्दैन । यद्यपि जुन तरिकाले नेपालमा करिब ४० देखि ५० प्रतिशत भोट विभिन्न कम्युनिस्ट समूहहरू वा वामपन्थी समूहहरूले लिने गर्थे, यस पटक २० प्रतिशतभन्दा मुनिमात्रै बसेको देखिन्छ । यसको अर्थ कम्युनिस्ट जनमत आधा घटेको प्रस्ट देखिन्छ ।

यो ट्रेन्ड भविष्यका दिनमा पनि कायमै रह्यो भने कम्युनिस्ट समूहहरू तेस्रो चुनावमा पुगेर सकिन्छन् । लगत्तैको चुनावमा कभर गर्न सकियो भने उनीहरू रहिरहन सक्छन् ।

कभर गर्न सक्छन् कि सक्दैनन् भन्नका लागि दुई वटा कुरामा भर पर्छ । एउटा, स्वयं उनीहरू भित्र कत्तिको सुधार आउँछ, नेतृत्व परिवर्तन हुन्छ र एकताबद्ध भएर उनीहरू जान्छन् भन्ने कुरा हो । अर्को, उनीहरूको एजेन्डालाई जनताको बिचमा लान सत्ता पक्षले कति ठाउँ दिन्छ वा सत्ता पक्ष कति सफल हुन्छ भन्ने पनि हो ।

सत्ता पक्ष सफल भयो भने उनीहरू अझै कमजोर हुन्छन् । सत्ता पक्ष असफल भयो भने उनीहरूले जनतामा जाने ठाउँ पाउँछन् । मेरो विचारमा सैद्धान्तिक कुरा यही हो । व्यावहारिक यथार्थलाई हेर्दा नेपालको कम्युनिस्ट समूहहरू निरन्तर कमजोर हुँदै जान्छन् जस्तो लाग्छ । पश्चिम बंगाल हुन सक्ने सम्भावना बढेको छ ।

यस्तो हुनुको कारण पहिलो कुरा कम्युनिस्ट पार्टीमा केपी ओलीको उदय तथा ओली र प्रचण्डबिच पार्टी एकता गरेर जसरी दुई तिहाइ बहुमत प्राप्त गरेका थिए, कम्युनिस्ट नेताहरूको इगोका कारण बहुमत गुम्यो । त्यसैले मतदाताहरू यिनीहरूसँग विरक्त भए ।

दोस्रो, जेनजी आन्दोलनसम्म आइपुग्दाखेरि दमनकर्ता या दमनकारी शक्तिको रूपमा, क्रान्ति विरोधी शक्तिको रूपमा कम्युनिस्ट स्थापित भयो । त्यतिबेला ओली नेतृत्वको सरकार थियो । त्यसले गर्दा कम्युनिस्ट जनमत कमजोर भयो । आन्तरिक अन्य प्रवृत्तिगत कुराहरू हेर्दा कम्युनिस्टहरूमा जुन वैचारिक सङ्कट थियो, कुनै बेला मार्क्स, लेनिन, माओले लेख्या कुराहरूले २१औँ शताब्दी लिड हुन सक्दैनथ्यो । एक समय मार्क्सका, लेनिनका, माओका विचारहरू यिनीहरूले प्रचार गरे । ती विचार २१औँ शताब्दीको तेस्रो दशकमा आइपुग्दा असफल भए । ती विचारहरूको विकल्प के हो भनेर यिनीहरू आफैँले नयाँ न्यारेटिभ र सिद्धान्तहरू निर्माण गर्न, नयाँ एजेन्डाहरू सेटिङ गर्न सकेनन् ।

संसारभरि नै अहिले कम्युनिस्ट पार्टीहरूको विचार असान्दर्भिक छ भन्ने बहस छ । विशेषगरी १९९० पछि बितेको ३०÷४० वर्षमा संसारभरि नै कम्युनिज्मलाई एउटा थप विचारधारा मानिन्छ । नेपालमा त्यसको अवशेष सधैँ थियो । सधैँ इतिहासको ब्याज खाएर कुनै पनि राजनीतिक दल टिक्दैनन् । प्रत्येक युगको आवश्यकता अनुसार उनले आफूलाई परिवर्तन गर्न, ढाल्न, नयाँ विचार बनाउन, एजेन्डा सेटिङ गर्न र त्यही अनुरूपको व्यवहार प्रदर्शन गर्न सक्नुपर्छ, जो यिनीहरूले सकेनन् ।

भक्तपुर (नेपाल मजदुर किसान पार्टी)को सन्दर्भमा मलाई पनि आश्चर्य लागेको छ । मैले यो कल्पना गरेको थिइनँ । बरू कांग्रेस, एमाले, माओवादी कमजोर हुन्छन् भन्ने अनुमान थियो । राष्ट्रिय जनमोर्चा, मसाल यसपालिदेखि सिद्धिन्छ किनभने उसको बाग्लुङ र प्युठानमा मात्रै थियो, त्यहाँ नआएपछि यो सिद्धिन्छ भन्ने लगभग कन्फर्म थियो । तर नेमकिपा भक्तपुर–१ मा हार्छ भन्ने सायद धेरैले सोचेका थिएनन् । त्यहाँको लोकल स्टडी पनि होला । मलाई त्यति थाहा छैन । मैले गहिरो गरिकन त्यो निर्वाचन क्षेत्रको अध्ययन पनि गरेको छैन, तर त्यो निर्वाचन क्षेत्र नेमकिपा हार्नुपर्ने त्यस्तो गतिलो कारण देखिँदैन ।

लामो समय शासन गरेको मान्छेहरूमा चेन्जको भावना खोज्ने एउटा कारण देखिन्छ । नारायणमान बिजुक्छेजीको नेतृत्वमा त्यो पार्टी लामो समयदेखि अस्तित्वमा देखिन्थ्यो । त्यहाँको लोकल कम्युनिटी पनि त्यो पार्टीसँग इन्ट्याक्ट थियो । त्यहाँको नगरपालिका, वडाहरू पनि धेरै उहाँहरूले जित्नुभएको थियो । भक्तपुरको नगरपालिकालाई विकासका दृष्टिले धेरै नगरपालिकाहरूमध्ये स्वच्छ, भ्रष्टाचार नहुने, छिटो काम हुने भन्ने पनि थियो । त्यति हुँदाहुँदै उहाँहरूले हार्नुभयो भनिसकेपछि त्यसको दुई वटा कारण हुन सक्छ । एउटा त्यही परिवर्तनको भावना । चिनी पनि धेरै खाएपछि तितो हुन्छ । प्राकृतिक रुपमै परिवर्तनको आकांक्षा हुन्छ नै । भक्तपुरको दुवै क्षेत्र पहिला नेमकिपाले जित्थ्यो । पछि बसाइँ सरेर आएका अथवा सहरीकरण हुँदै देशका विभिन्न भागबाट आएर अनेकथरीको जनसंख्या बस्दै गएपछि नेमकिपा भक्तपुर–२ मा हार्न थालेको थियो । चाँगुनारायण क्षेत्र लगायत क्षेत्रहरूमा सहरीकरण तीब्र छ । बाहिरबाट पनि मान्छे धेरै आए होला । त्यो पनि एउटा कारण हुन सक्छ, तर यसै हो भनेर म दाबी गर्दिनँ । त्यो अध्ययनको विषय हो ।

सम्बन्धित समाचार