धनुषा-१ मा रास्वपाका किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा सुनुवाइ सकियो।
निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सुनुवाइ गरेको हो।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर–१ मा उम्मेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । यसअघि फागुन २५ गते न्यायाधीश नृपध्वज निरौलाको इजलासले सो मुद्दामा कारण देखाऊ आदेश जारी गरेको थियो ।
आयोगले कालोसूचीमा परेका कारण योग्यता नपुग्ने भन्दै साहको उम्मेदवारी रद्द गरेको थियो । उम्मेदवारी खारेज भए पनि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिह्न घण्टीमा भने अत्यधिक मत परेको थियो । तर, सो क्षेत्रमा आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादव निर्वाचित भएको घोषणा गरिसकेको छ ।
सर्वोच्चले अर्को फरक रिटमा बिहीबार (फागुन २८) मात्र कालोसूचीमा राख्ने निर्णय कार्यान्वयन नगर्न कर्जा सूचना केन्द्रलगायत निकायलाई अन्तरिम आदेश जारी गरेको थियो ।