इनिसा विक हत्या प्रकरण: थप अनुसन्धानका लागि सीआईबी पनि खटियो

6.2k Shares

सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्याको अनुसन्धानका लागि सीआईबी टोली आउने भएको छ।
प्रहरीले अनुसन्धानका लागि विज्ञ टोली बोलाएको छ, पोस्टमार्टम रिपोर्टले बलात्कार र अत्यधिक रक्तस्रावबाट मृत्यु भएको देखाएको छ।
घटनामा संलग्न रहेको आरोपमा किशोरहरू पक्राउ परेका छन्, परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गरेका छन्।
सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको अनुसन्धानमा सहयोग गर्नका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी)बाट एक जना प्रहरी निरीक्षक कमान्डमा टोली सुर्खेत आउने भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीराज शाहीले उक्त टोली बिहीबार नै सुर्खेत आउने बताए । उनका अनुसार, नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने अर्को एक टोली पनि सुर्खेत आउँदै छ । ‘उक्त पोलिग्राफले झूटो बोलेको पत्ता लगाउँछ,’ उनले भने, ‘त्यस्तै सोही अफिसबाट सीडीआर एनालिसिसहरू लगायतका विज्ञ टोली पनि आउँदै हुनुहुन्छ ।’

उनका अनुसार, अनुसन्धानको करिब अन्तिम अवस्थामा प्रहरी पुगेको छ । यद्यपि कुनै पनि अनुसन्धानको पाटो नछुटोस् भनेर थप विज्ञहरूको टोलीको मदत मागिएको हो ।

‘अनुसन्धानको पाटोहरू नछुटोस् भनेर हो, यसलाई बलियो बनाएर लैजानको लागि र अनुसन्धान पाटोलाई अझ व्यापक बनाएर लैजानको लागि यो टिमहरूको पनि माग गरेका छौँ,’ शाहीले भने ।

शाहीले प्रारम्भिक अनुसन्धान सकिएको बताए । ‘धेरै रिपोर्टहरू आइसकेका छन्, पोस्टमार्टम रिपोर्टहरू भइसकेको छ,’ उनले थपे, ‘फरेन्सिक ल्याबहरूमा जस्तै डीएफएल, डिजिटल फरेन्सिक ल्याबमा मोबाइलहरू पठाएका छौँ ।’

त्यस्तै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजीकल रिपोर्टको लागि र बायो–सेरोलोजिकल परीक्षणको लागि पठाइएको पनि उनले बताए ।

‘ती सबै रिपोर्टहरू आयो भनेपछि र ती रिपोर्टहरूको कम्पेरिजन गरे पश्चात् हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ,’ शाहीले भने, ‘अनुसन्धानका लागि जिल्ला मै छुट्टै टोली पनि गठन गरिएको छ ।’

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

यद्यपि अनुसन्धान बाँकी नै रहेकाले यो कुरा प्रहरीले अहिले बाहिर भनेको अवस्था छैन । 

गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका—४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही दिन प्रहरीले १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो । जुन व्यक्तिले इनिसासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।

पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय किशोरहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उक्त दिन शनिबार हो । 

अर्को उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । ‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङवाक गर्न गएको भनेका छन्,’ एक अनुसन्धान अधिकृतले भने ।

मर्निङवाक जाने बहानामा ती १६ वर्षीय युवकले शारीरिक सम्बन्ध राखेको र सोही क्रममा अत्यधिक रक्तश्राव भएको भनेका छन् ।

साथै, उनले इनिसा बेहोस भएपछि अस्पताल लैजान अन्य साथीहरूको सहयोग मागेको बयान दिएका छन् ।

परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको भन्दै उजुरी दिएका छन् । अभियुक्तहरू सबै इनिसाकै कक्षाका साथीहरू भएको पनि खुलेको छ ।

यद्यपि अभियुक्तहरु सबै नाबालक भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

घटनाबारे देशभर चासो, निष्पक्ष अनुसन्धानको माग 

यो घटनाले यतिबेला पुरै देशको ध्यान खिचेको छ । राजनीति दल, अधिकारकर्मीदेखि कलाकर्मीहरू समेतले यो घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् ।

सामाजिक सञ्जालमा उनीहरूले इनिसाको तस्बिर शेयर गर्दै न्याय दिलाउनुपर्ने आवाज उठाइरहेका छन् ।

पीडित परिवार र आफन्तहरूले बुधबार वीरेन्द्रनगरमा निष्पक्ष छानबिनको मागसहित आन्दोलन नै गरेका छन् । साथै, इनिसाकी आमा तिला विकले प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलाई भेटेर निर्दोष छोरीलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको भन्दै न्यायको माग गरिन् ।

‘हत्यारालाई कडाभन्दा कडा कारबाही होस्,’ उनले भनिन् । यस्तै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिसाको घरमै पुगेर कानुन अनुसार न्याय सुनिश्चित गरिने विश्वास परिवारलाई दिलाएका छन् ।

उनले घटनालाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

‘सरकारको तर्फबाट यस घटनाको सत्य तथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने छ,’ कँडेलले भने, ‘पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ ।’

सम्बन्धित समाचार