लुम्बिनी प्रदेशका १२ पूर्वमन्त्री र २ पूर्वमुख्यमन्त्री प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भए।
विभिन्न जिल्लाका धेरै अनुभवी नेताहरूले निर्वाचन हारे, र केहीको धरौटी जफत भयो।
पराजित हुनेमा विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, शंकर पोख्रेललगायतका नेताहरू छन्।
बुटवल । लुम्बिनी प्रदेशबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिएका १२ जना पूर्वमन्त्री र दुई जना पूर्वमुख्यमन्त्रीलाई यस पटक मतदाताले अस्वीकार गरेका छन् । पटक–पटक निर्वाचन जित्दै मन्त्री बनेका धेरै अनुभवी नेताहरू यस पटक पराजित मात्र भएनन्, केहीको त धरौटीसमेत जफत हुने अवस्था आएको छ ।
प्रदेशका विभिन्न जिल्लाबाट १४ जना पूर्वमन्त्री र दुई पूर्व मुख्यमन्त्री प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । तीमध्ये अधिकांश नेता संसद् पुग्न असफल भएका छन् ।
नवलपरासीमा पटक–पटक चुनाव जितेर मन्त्री बनेका हृदयेश त्रिपाठी यस पटक मतदाताबाट अस्वीकृत भए । सोही जिल्लाको क्षेत्र नम्बर २ मा राप्रपाका ध्रुवबहादुर प्रधान पनि चौथो स्थानमा खुम्चिए । २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएर उनी केही समय कानुनमन्त्री समेत बनेका थिए ।
रुपन्देही क्षेत्र नम्बर ४ मा पटक–पटक निर्वाचन लड्दै आएका सर्वेन्द्रनाथ शुक्ला पनि यस पटक पराजित भए । शुक्ला पनि पूर्वमन्त्री हुन् । जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवार बनेका उनले जम्मा ३ हजार ४१० मत प्राप्त गरे । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कन्हैया बनिया २८ हजार ६६६ मतसहित निर्वाचित भए ।
रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा पटक–पटक मन्त्री बनेका विष्णु प्रसाद पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार सुलभ खरेलले विशाल मतान्तरले पराजित गरे । पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्दा खरेलले ५६ हजार ५६० मत पााए । २०६४ सालदेखि निरन्तर जित्दै आएका पौडेलको संसद् यात्रामा २८ वर्षीय खरेलले ‘ब्रेक’ लगाएका हुन् ।
पाल्पा क्षेत्र नम्बर २ मा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय पनि पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका माधवबहादुर थापा सो क्षेत्रबाट निर्वाचित हुँदा पाण्डेय चौथो स्थानमा सीमित भए ।
गुल्मीमा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्रीद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली दुवै जना पराजित भए । गुल्मी–१ मा ज्ञवाली र गुल्मी–२ मा विष्ट उम्मेदवार थिए ।
बर्दिया क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री सञ्जयकुमार गौतम पनि पराजित भए । उनी तेस्रो स्थानमा सीमित रहे ।
त्यसैगरी दाङ क्षेत्र नम्बर १ मा पूर्वसहरी विकासमन्त्री मेटमणि चौधरी चौथो स्थानमा खुम्चिए भने दाङ क्षेत्र नम्बर ३ मा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरी पनि पराजित भए ।
कपिलवस्तु क्षेत्र नम्बर २मा कांग्रेसबाट निर्वाचित भई मन्त्री बनेका सुरेन्द्र आचार्य यस पटक पराजित भए । सोही क्षेत्रमा विगतमा विभिन्न दल परिवर्तन गर्दै चार पटक सांसद बनेका पूर्वमन्त्री बृजेश कुमार गुप्तालाई पनि मतदाताले अस्वीकार गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम सिंह थापाले भारी मतान्तरले पराजित गरे ।
दुई पूर्वमुख्यमन्त्री पनि पराजित
लुम्बिनी प्रदेशका दुई पूर्वमुख्यमन्त्री पनि मतदाताबाट यस पटक अस्वीकृत भएका छन् । प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोख्रेल दाङ क्षेत्र नम्बर २ बाट पराजित भए ।
त्यस्तै दाङ क्षेत्र नम्बर १ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी पनि पराजित भए । माओवादीबाट प्रदेश सभा सदस्य हुँदै मुख्यमन्त्री बनेका केसी यस पटक स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए । उनको धरौटी समेत जफत भएको छ ।
केही पूर्वमन्त्री निर्वाचित हुन सफल
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये प्युठानबाहेक अन्य ११ जिल्लामा पूर्वमन्त्रीहरू चुनावी मैदानमा उत्रिएका थिए । तीमध्ये धेरै नेता पराजित भए पनि केही भने निर्वाचित भएका छन् ।
रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भए । त्यस्तै रोल्पामा पूर्वमन्त्री वर्षमान पुन पनि निर्वाचित भए ।
बाँके क्षेत्र नम्बर २ मा मोहम्मद इस्तियाक राई पनि निर्वाचित हुन सफल भए । निर्वाचनको अन्तिम समयमा दल परिवर्तन गर्दै एमालेबाट उम्मेदवार बनेका राईलाई मतदाताले पुनः संसद् जाने अवसर दिएका छन् ।