मुम्बई । अभिनेता सनी देओल र निर्देशक राजकुमार सन्तोषीको प्रतिक्षित फिल्म ‘लाहौर १९४७’ को नाम परिवर्तन गरिएको भन्दै फैलिएको समाचारको निर्माता आमिर खानले खण्डन गरेका छन्। केही दिनदेखि फिल्मको नाम बदलेर बँटवारा १९४७ राखिएको दाबीसहितका रिपोर्टहरू सार्वजनिक भएपछि आमिर खानले एक बयान जारी गर्दै फिल्मको शीर्षकमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारेका हुन्।
भारत र पाकिस्तानबिचको वर्तमान राजनीतिक सम्बन्धलाई मध्यनजर गर्दै 'लाहौर' शब्दले विवाद निम्त्याउन सक्ने भन्दै नाम बदल्ने चर्चा चले पनि आमिरले ती सबै अड्कलबाजी मात्र भएको बताएका छन्। राजकुमार सन्तोषीको निर्देशनमा बनिरहेको यस फिल्ममा सनी देओल मुख्य भूमिकामा छन्।
यी दुईको जोडीले यसअघि घायल, दामिनी र घातक जस्ता व्यावसायिक रूपमा सफल र यादगार फिल्महरू दिइसकेका कारण पनि दर्शकमाझ यो फिल्मलाई लिएर ठूलो उत्साह छ। फिल्मको कथा प्रसिद्ध लेखक असगर वजाहतको चर्चित नाटक ‘जिस लाहौर नई देख्या ओ जम्या ही नहीं’ बाट प्रेरित रहेको बताइएको छ।
सन् १९४७ को भारत विभाजनको पृष्ठभूमिमा आधारित यस फिल्मले तत्कालीन समयको सामाजिक र मानवीय पीडाका साथै लाखौँ मानिसहरूले आफ्नो घर छोड्नुपर्दाको दर्दनाक कथालाई पर्दामा उतार्नेछ। फिल्ममा सनी देओलका साथमा प्रीति जिन्टा, शबाना आजमी, अली फजल, करण देओल र अभिमन्यु सिंह जस्ता कलाकारहरूले अभिनय गरेका छन्।
फिल्मको संगीत प्रसिद्ध संगीतकार ए.आर. रहमानले तयार पारेका छन्। यो फिल्म आगामी १३ अगस्ट २०२६ मा सिनेमाघरहरूमा प्रदर्शन गर्ने योजना रहेको छ।