निर्देशक विशाल भण्डारीले गगन थापालाई खुल्ला पत्र लेख्दै युवा पुस्ताको अपेक्षाबारे ध्यानाकर्षण गराएका छन्।
भण्डारीले गगन थापालाई आलोचनात्मक राजनीतिभन्दा माथि उठेर नीतिगत विकासको खाका प्रस्तुत गर्न सुझाव दिएका छन्।
उनले गगन थापाको पुरानो र वर्तमान शैलीमा भिन्नता रहेको टिप्पणी गर्दै युवा पुस्ताको गुनासो व्यक्त गरे।
काठमाडौँ । निर्देशक एवं कमेडियन विशाल भण्डारीले नेपाली कांग्रेसका सभापति गगन थापालाई एक खुल्ला पत्र लेख्दै बदलिँदो राजनीतिक परिवेश र युवा पुस्ताको अपेक्षाबारे गम्भीर ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जालमा एक खुल्ला पत्र लेख्दै उनले थापालाई आलोचनात्मक राजनीतिभन्दा माथि उठेर नीतिगत विकासको खाका प्रस्तुत गर्न सुझाव दिएका हुन् ।
भण्डारीले २०६२/६३ को जनआन्दोलनका बेला शीर्ष नेताहरूसँगै पौंठेजोरी खेल्ने निडर गगन थापा र अहिलेको ‘गगन २.०’ मा ठूलो अन्तर देखिएको टिप्पणी गरेका छन् । ‘हाम्रो पुस्ता (९० को दशकका किड्स)लाई थाहा छ, तपाईं कांग्रेसभित्रको क्रान्तिकारी नेता हो’, भण्डारी लेख्छन्, ‘तर अहिले त्यो गगन कता हरायो ? सायद जिम्मेवारीले थिचेर होला, त्यो जोस खोजेर निकाल्नुहोला ।’ उनले भदौ २३ र २४ गतेको कलिला शहीदहरूको न्यायका लागि गगनले किन दह्रो आवाज उठाएनन् भन्ने गुनासो युवाहरूमा रहेको समेत धारणा राखेका छन् ।
‘तपाईँलाई यो चुनाव चुनौतीले भरिएको छ । चुनावमा तल माथि भए पुरानो कांग्रेस बिउँताउने दाउ कुरेर बसेका छन् तपाइकै पार्टी भित्रका केहि नेता । त्यो मनसुवा सफल हुन दिने नदिने तपाइकै हातमा छ’, उनी अगाडि लेख्छन् ‘यो पटकको संसद् भवनमा तपाई जस्तो नेता उल्लेख्य सिट सहित हुन देशको लागि पनि आवश्यक छ । ५० कट्नु भएको छैन । युवा नै हो अझै । विद्यार्थी राजनीतिबाट आउनु भएकोले अनुभव पनि छ ।’
अनुभव र जोशको तालमेल मिलाएर कसरी काम गर्ने त्यो सिकाउन पनि गगन संसद् भवनमा हुनुपर्ने तर्क समेत भण्डारीको छ ।