टिपर धुने क्रममा करेन्ट लागेर चालकको मृत्यु

2.1k Shares

सिरहाको गोलबजारमा करेन्ट लागेर एक टिपर चालकको मृत्यु भएको छ।
टिपर सफा गर्ने क्रममा हाइड्रोलिक भागले विद्युत् लाइन छोएपछि दुर्घटना भएको हो।
मृतकको शव पोस्टमार्टमका लागि लहान अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा आज बिहान करेन्ट लागेर एक टिपर चालकको ज्यान गएको छ। प्रदेश २–०१–००१ क ००४५ नम्बरको टिपर सफा गर्ने क्रममा अचानक करेन्ट प्रवाह हुँदा स्थानीय ४३ वर्षीय सन्तोष साहको मृत्यु भएको हो। 

टिपरको हाइड्रोलिक भाग ढालामाथि उठाउँदा माथि रहेको ११ केभीको उच्च भोल्टेज विद्युत् लाइनमा छोइएपछि यो भयानक दुर्घटना भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार टिपर सफा गरेर पानी छ्याप्ने तयारी गरिरहेका बेला साहले टिपरको पछाडिको भाग उठाएका थिए। 

सोही क्रममा विद्युतको तारमा ढालाले छोएपछि टिपरमा करेन्ट सञ्चार भएको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई तत्काल उपचारका लागि गोलबजारस्थित लाइफलाइन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले पुष्टि गरेको छ।

विद्युत् सर्ट भएपछि टिपरको केही भागमा समेत आगलागी भई क्षति पुगेको छ। प्रहरी निरीक्षक सुदन केसीका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान सुरु गरेको थियो। मृतकको शवलाई पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ। 

सम्बन्धित समाचार