सुनसरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माणका काममा केन्द्रित हुन आग्रह गरेका छन् । मंगलवार इहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीले आफ्ना धारणा सार्वजनिक गर्दा केही पक्ष आत्तिएको टिप्पणी गर्दै अब देश विकास निर्माणको बाटोमा अघि बढिसकेको दाबी गरे ।
उनले निर्माण व्यवसायीहरुलाई दुई–तीन सिफ्टमा, रातदिन काम गर्नेगरी तयारी गर्न आग्रह गर्दै आवश्यक उपकरण पर्याप्त नभए नयाँ उपकरण खरिदको तयारी गर्न सुझाव दिए । सभापति लामिछानेले अब कानूनअनुसार काम हुने स्पष्ट पार्दै कसैलाई ‘डोरीले बाँध्ने’ नभई कानूनले नै बाँधेर काम गराइने बताए ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहले बाटो नबनाउँने निर्माण व्यवसायीलाई रुखमा बाँधेर काममा लगाउने अभिव्यक्ति दिएका थिए । साहको अभिव्यक्ति विरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएपछि सभापति लामीछानेले प्रष्टीकरण दिएका हुन् । उनले अब देश विकास निर्माणको बाटोमा अघि बढ्ने भएकोले सुरक्षाको चिन्ता नगरी उपकरण खरिदमा लाग्न निर्माण व्यवसायीलाई आग्रह गरे ।