सिन्धुली। बी.पी. राजमार्ग अन्तर्गत पर्ने सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित खुर्कोट चेकपोइन्टमा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा ओसारपसार हुँदै गरेको कपडा बरामद गरेपछि तराई–पहाड जोड्ने मुख्य मार्गमा लामो समयदेखि चलिरहेको ‘सेटिङ’को जालो बाहिरिएको छ। प्रारम्भिक अनुसन्धानले महोत्तरी नाकाबाट भन्सार छली गरी ल्याइएको उक्त सामान बीचका केही चेकपोइन्टमा रोकावट बिना नै पार गराइएको आशंका बलियो बनेको छ।
आइतबार दिउँसो करिब १ बजे नियमित सवारी जाँचका क्रममा काठमाडौंबाट सोलुतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७२२० नम्बरको डबल क्याप बोलेरोबाट प्रहरीले बोरा भित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा विभिन्न ब्रान्डका ज्याकेट र ट्राउजर बरामद गरेको हो। सवारी साधन उदयपुरको कटारी नगरपालिका–९ का २५ वर्षीय चालक प्रेमबहादुर सार्कीले चलाएका थिए।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार बरामद सामानमा ८१ पिस कोलम्बिया ज्याकेट, ८७ पिस फेसन स्पोर्ट ज्याकेट, ४८९ पिस कोलम्बिया ट्याक, १८ पिस महिला कालो ट्राउजर र २६२ पिस फेसन स्पोर्ट ट्राउजर रहेका छन्। ती सबै सामान र सवारी साधनको अनुमानित कुल मूल्य ३६ लाख १३ हजार ७ सय रुपैयाँ आँकलन गरिएको छ। बोलेरो गाडीको मात्र मूल्य करिब २६ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ।
बिना बिलबिजक यति ठूलो परिमाणमा कपडा फेला परेपछि बोलेरोसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालिएको थियो। प्रारम्भिक सोधपुछपछि थप कानुनी कारबाहीका लागि सोमबार सम्पूर्ण सामान, सवारी साधन र चालकलाई राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ। राजस्व छलीको आशंकामा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको सबैभन्दा चासोको पक्ष भनेको उक्त अवैध सामान खुर्कोटमा बरामद हुनुअघि सिन्धुलीको भिमानस्थित इलाका प्रहरी कार्यालयको चेकजाँच पार गरेर आएको खुलासा हुनु हो। स्रोतका अनुसार महोत्तरी नाकाबाट भन्सार छली गरी ल्याइएको सामान तराई क्षेत्रबाट बी.पी. राजमार्ग हुँदै सिन्धुली प्रवेश गरेको थियो।
तर, सामान्यतया कडाइका साथ जाँच गरिनुपर्ने भिमान चेकपोइन्टमा भने उक्त गाडी बिना अवरोध पार गरिएको आरोप छ। स्थानीय स्रोत र सुरक्षा निकायभित्रकै केही व्यक्तिहरूका अनुसार लामो समयदेखि ‘सेटिङ’का आधारमा अवैध सामान छाड्ने प्रचलन रहेको दाबी गरिएको छ।
इलाका प्रहरी कार्यालय भिमानमा लामो समयदेखि कार्यरत हवल्दार राजु गुरुङ घुमुवाको रूपमा परिचालित रहेको बताइएको छ। उनी झण्डै आठ वर्षदेखि भिमान क्षेत्रमा नै घुमुवाका रूपमा कार्यरत छन्। हालका प्रहरी निरीक्षक राजु कार्कीले पनि हाजिर भएदेखि नै उनलाई सोही जिम्मेवारीमा परिचालन गर्दै आएको स्रोतको दाबी छ।
सुरक्षा निकायभित्रको प्रचलनअनुसार घुमुवा कर्मचारीहरूलाई नियमित रूपमा स्थानान्तरण गरिनुपर्ने भए पनि लामो समय एउटै क्षेत्रमा कार्यरत रहँदा स्थानीय तस्कर समूहसँग नजिकको सम्बन्ध विकास हुने जोखिम रहने जानकारहरू बताउँछन्। स्रोतका अनुसार तराईबाट बी.पी. राजमार्ग हुँदै तस्करी गर्ने समूहदेखि जुवा खेलाउने गिरोहसम्मसँग उनको प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क रहेको आशंका गरिएको छ।
यही कारण सेटिङ मिलाएर सवारी साधन चेकजाँच नगरी छाड्ने गरिएको र सोही क्रममा आएको कपडा खुर्कोटमा पुगेर मात्रै बरामद भएको दाबी स्रोतले गरेको छ। यद्यपि, यस विषयमा आधिकारिक रूपमा प्रहरी कार्यालयले स्पष्ट धारणा सार्वजनिक गरेको छैन।
घटनापछि स्थानीय स्तरमा आन्तरिक छानबिनको माग उठ्न थालेको छ। यदि एउटै मार्गमा रहेको एक चेकपोइन्टबाट अवैध सामान छुटेर अर्को चेकपोइन्टमा बरामद हुन्छ भने त्यसले समन्वय र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाउने सुरक्षा विश्लेषकहरू बताउँछन्।
पूर्व सुरक्षा अधिकारीहरूका अनुसार तराई नाकाबाट पहाडी जिल्लातर्फ हुने अवैध व्यापार नियन्त्रण गर्न बहु–स्तरीय जाँच संयन्त्र आवश्यक हुन्छ। तर, कुनै एक बिन्दुमा मिलेमतो भए सम्पूर्ण प्रणाली कमजोर बन्न सक्छ। “एउटा चेन कमजोर भयो भने सम्पूर्ण सुरक्षा चक्र भत्किन्छ,” एक पूर्व प्रहरी अधिकृतले भने।
स्रोतका अनुसार महोत्तरी नाकाबाट पछिल्लो समय कपडा, इलेक्ट्रोनिक्स र अन्य उपभोग्य वस्तुहरू भन्सार छली गरी भित्र्याउने क्रम बढेको छ। तराई क्षेत्रमा भन्सार शुल्क छल्न सफल भएपछि तस्करहरूले पहाडी बजारलाई लक्षित गरी सामान पठाउने गरेका छन्।यस पटक बरामद भएको कपडा पनि सोही सञ्जालमार्फत आएको आशंका गरिएको छ। ब्रान्डेड नामका ज्याकेट र ट्राउजर ठूलो संख्यामा फेला पर्नुले संगठित तस्करी सञ्जाल सक्रिय रहेको संकेत मिल्ने जानकारहरू बताउँछन्।
इलाका प्रहरी कार्यालय खुर्कोटले भने नियमित सवारी जाँच कडाइ गरिएकै कारण उक्त सामान बरामद भएको जनाएको छ। चेकपोइन्टमा निगरानी बढाइएपछि पछिल्लो समय अवैध सामान ओसारपसारका घटनामा कमी आएको दाबी गरिएको छ।प्रहरीका एक अधिकारीका अनुसार “सिन्धुली खण्डमा निगरानी अझ कडा बनाइनेछ। कुनै पनि अवैध गतिविधिलाई छुट दिइने छैन।” उनले भिमान चेकपोइन्ट सम्बन्धी आरोपबारे भने आधिकारिक जानकारी नआएको बताए।
यो घटनाले तराई–पहाड जोड्ने रणनीतिक मार्गमा सुरक्षा संयन्त्रको प्रभावकारितामाथि प्रश्न खडा गरेको छ। एउटै जिल्लाभित्र दुई फरक चेकपोइन्टमा देखिएको व्यवहारिक अन्तरले ‘सेटिङ’को सम्भावनालाई बल पु¥याएको छ।यदि आरोप प्रमाणित भए सम्बन्धित प्रहरी कर्मचारीमाथि विभागीय कारबाही हुन सक्ने कानुनी प्रावधान रहेको छ। तर, यस्ता घटनामा प्रायः औपचारिक छानबिनमै सीमित रहने र जरा उखेल्न नसक्ने गुनासो नागरिक समाजको छ।
खुर्कोट चेकपोइन्टमा ३६ लाखभन्दा बढी मूल्यका अवैध कपडा बरामद हुनु सामान्य घटना होइन। यसले एकातिर प्रहरीको सक्रियता देखाउँछ भने अर्कोतर्फ सम्भावित मिलेमतो र कमजोर निगरानीको पाटोलाई उजागर गर्छ। महोत्तरी नाकाबाट सुरु भएको भनिएको तस्करी सञ्जाल, भिमान चेकपोइन्टको भूमिकामाथि उठेको प्रश्न र लामो समयदेखि एउटै स्थानमा कार्यरत घुमुवा कर्मचारीको विषय अब गम्भीर अनुसन्धानको दायरामा आउनुपर्ने देखिन्छ।अब प्रश्न उठ्छ—यदि खुर्कोटमा जाँच कडा थियो भने भिमानमा किन फितलो? के यो केवल संयोग हो, वा संगठित सेटिङको परिणाम? यसको उत्तर विस्तृत छानबिनपछि मात्रै स्पष्ट हुनेछ। तर, एउटा कुरा प्रष्ट छ—राजमार्गमा हुने अवैध कारोबार नियन्त्रणका लागि केवल चेकपोइन्ट पर्याप्त हुँदैन, निष्पक्षता र जवाफदेहिता अनिवार्य हुन्छ।