भैरहवा–मर्चवारमा ‘घुमुवा प्रहरी’को राजनीतिक दौडधूप ? निर्वाचन आचारसंहिता उल्लङ्घनदेखि तस्करी साँठगाँठसम्मका गम्भीर आरोप

2.3k Shares

भैरहवा । लुम्बिनी प्रदेशको प्रहरी संगठनभित्रैबाट उठेको एक संवेदनशील विषयले अहिले रूपन्देही–मर्चवार क्षेत्रको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा गरेको छ। नेपाल प्रदेश प्रहरी कार्यालय, भैरहवाबाट परिचालित घुमुवा प्रहरीका रूपमा कार्यरत असई दुर्गेश यादवमाथि निर्वाचन आचारसंहिता उल्लङ्घन, राजनीतिक दलका उम्मेदवारसँग खुलेआम भोट माग्दै हिँडेको, तस्करीसँग साँठगाँठ गरेको र आफूलाई उच्च अधिकारीको ‘घुमुवा’ भन्दै रकम असुली गरेको जस्ता गम्भीर आरोप सार्वजनिक भएका छन्।

स्थानीय स्रोतहरूका अनुसार असई यादव लामो समयदेखि एसएसपी महेन्द्र खड्काको पालादेखि घुमुवा रूपमा कार्यरत रहँदै आएका थिए। हाल नेपाल प्रदेश प्रहरी कार्यालयका प्रमुखका रूपमा एसएसपी दिपक पोखरेल आएपछि पनि उनी यथावत् घुमुवा रूपमा परिचालित छन्। तर पछिल्ला दिनहरूमा उनको गतिविधि झन् विवादित बन्दै गएको आरोप छ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै असई यादव मर्चवार क्षेत्रमा सक्रिय रूपमा देखिएको स्थानीयहरूको दाबी छ। उनी नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दै हिँडेको आरोप लागेको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लागू भएसँगै कुनै पनि प्रहरी कर्मचारीले कुनै राजनीतिक दलको प्रचारप्रसारमा संलग्न नहुन, सामाजिक सञ्जालमा लाइक–कमेण्ट नगर्न र उम्मेदवारसँग फोटोसमेत नखिचाउन स्पष्ट निर्देशन दिएको छ। तर सो निर्देशनको ठाडो अवज्ञा गर्दै असई यादव चुनावी गतिविधिमा संलग्न भएको स्थानीयको भनाइ छ।

यस सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी भूपेन्द्र खत्री नेतृत्वमा प्रदेश प्रहरी कार्यालयले निर्वाचन सुरक्षा रणनीति कडाइका साथ लागू गरिरहेको दाबी गर्दै आएको छ। तर प्रदेशस्तरमै कार्यरत एक घुमुवा प्रहरी कर्मचारीमाथि यस्तो आरोप लाग्नुले प्रहरी संगठनको विश्वसनीयतामै धक्का पुगेको विश्लेषण हुन थालेको छ।

असई यादवसँगै प्रहरी सहायक हवलदार राकेश सक्सेना लोध र प्रहरी हवलदार कल्याण श्रेष्ठ पनि उक्त गतिविधिमा संलग्न रहेको आरोप छ। राकेश सक्सेना लोध यसअघि कपिलवस्तुको इलाका प्रहरी कार्यालय पकडीमा कार्यरत रहँदा विवादमा तानिएको भन्दै स्थानीयले गुनासो गरेका छन्। कल्याण श्रेष्ठको दरबन्दी पाल्पा भए पनि उनी रूपन्देहीमै बसेर घुमुवा टोलीसँगै सक्रिय रहेको बताइन्छ।

स्थानीयवासीका अनुसार यी तीनजनाले फरार प्रतिवादी पक्राउ गर्नेभन्दा पनि सीमावर्ती क्षेत्रमा तस्करहरूसँग उठबस गर्दै आएको आरोप छ। मर्चवार–सीमावर्ती क्षेत्र विगतदेखि नै राजस्व चुहावट र अवैध ओसारपसारका कारण संवेदनशील मानिन्छ। प्रदेश प्रहरी प्रमुख डीआइजी खत्रीले तस्करीविरुद्ध कडाइ गर्दै आएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। तर तल्लो तहका केही प्रहरी कर्मचारीले उल्टै तस्करी समूहसँग मिलेमतो गर्दै रकम असुली गरिरहेको आरोपले नेतृत्वमाथि नै प्रश्न उठेको छ।

‘म डिआइजीको घुमुवा’ भन्दै 

असई यादवले आफूलाई “डिआइजीको घुमुवा” भन्दै विभिन्न ठाउँबाट रकम उठाइरहेको आरोप पनि बाहिरिएको छ। स्थानीय स्रोतका अनुसार उनले उच्च अधिकारीको नाम प्रयोग गर्दै प्रभाव जमाउने र आर्थिक लाभ लिने प्रयास गरिरहेको दाबी गरिएको छ। यसरी उच्च तहका अधिकारीको नाम जोडेर गतिविधि सञ्चालन गरिनुले डीआइजी खत्रीको छविमा समेत नकारात्मक असर परेको टिप्पणी हुन थालेको छ।

गुनासो ‘इन्स्पेक्टर तह’मै रोकिएको आरोप

स्थानीय बासिन्दाले पटक–पटक प्रदेश प्रहरी कार्यालयमा गुनासो गरे पनि केही इन्स्पेक्टर तहका अधिकारीहरूले विषयलाई ढाकछोप गरेको आरोप छ। उनीहरूकै संरक्षणमा असई यादवको गतिविधि चलिरहेको दाबी स्थानीयको छ। “कार्यालय प्रमुखसम्म कुरा पुग्नै दिइँदैन, बीचमै मिलापत्र गरिन्छ,” एक स्थानीयले बताए।एसएसपी दिपक पोखरेल हाल नेपाल प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन्। तर यो विषय उनको जानकारीमा पुगेको छ कि छैन भन्ने स्पष्ट छैन। यदि जानकारीमै नपुगेको हो भने संगठनभित्रै सूचना रोकिएको गम्भीर अवस्था मान्नुपर्ने देखिन्छ। यदि जानकारी हुँदाहुँदै कारबाही नभएको हो भने त्यो झन् गम्भीर विषय हुनेछ।

प्रहरी संगठनको छवि र चुनौती

प्रहरी संगठनले निर्वाचनका बेला निष्पक्ष र तटस्थ भूमिका खेल्नुपर्ने संवैधानिक दायित्व हुन्छ। निर्वाचन अवधिमा प्रहरी कर्मचारी राजनीतिक गतिविधिमा संलग्न हुनु कानुनी र नैतिक दुवै दृष्टिले अनुचित मानिन्छ। यस्तो आरोप सत्य प्रमाणित भए प्रहरी आचारसंहिताको गम्भीर उल्लङ्घन ठहरिनेछ।

साथै, सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण, राजस्व चुहावट रोकथाम र फरार अभियुक्त पक्राउ गर्ने जिम्मेवारी प्रहरीकै हो। तर सोही क्षेत्रमा खटिएका घुमुवा प्रहरीमाथि तस्करहरूसँग मिलेमतोको आरोप लाग्नुले सुरक्षा संयन्त्र कमजोर भएको संकेत गर्छ।

प्रश्नहरूको घेरा

• असई दुर्गेश यादवलाई घुमुवा रूपमा कसले परिचालन गरिरहेको छ ?

• निर्वाचन आचारसंहिता उल्लङ्घनबारे प्रदेश प्रहरी कार्यालयले के कदम चाल्यो ?

• स्थानीयले गरेको गुनासो किन कार्यालय प्रमुखसम्म पुगेन ?

• उच्च अधिकारीको नाम दुरुपयोग गरी रकम असुली भएको आरोपबारे छानबिन किन सुरु भएन ?

यी प्रश्नहरूको जवाफ खोज्नु अब प्रहरी नेतृत्वको जिम्मेवारी बनेको छ। प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यथार्थ छानबिन गरी दोषी प्रमाणित भए कडा कारबाही नगरे संगठनप्रतिको जनविश्वास थप खस्किने निश्चित छ।

भैरहवा–मर्चवार क्षेत्र अहिले संवेदनशील मोडमा उभिएको छ। एकातिर निर्वाचनको माहोल, अर्कोतिर सीमावर्ती तस्करीको चुनौती। यस्तो बेला प्रहरी नै विवादको केन्द्रमा आउनु दुर्भाग्यपूर्ण हो। यदि आरोपहरू सत्य हुन् भने यो केवल एक व्यक्तिको बदमासी होइन, संगठनात्मक कमजोरीको संकेत हुनेछ। र यदि आरोप असत्य हुन् भने पनि तत्काल छानबिन गरी सत्य सार्वजनिक गर्नु आवश्यक छ।प्रहरी संगठनको मूल मन्त्र ‘शान्ति, सुरक्षा र सुशासन’ हो। अब प्रश्न उठेको छ—के संगठनले आफ्नै घरभित्रको समस्या सुल्झाउन सक्ला ? कि घुमुवा प्रहरीको विवादले लुम्बिनी प्रदेश प्रहरीको छवि अझै धुमिल बनाउँदै जानेछ ?

सम्बन्धित समाचार