काठमाडौं– नेपाल हक्की संघले यही फागुन ४ गतदेखि काठमाडौंमा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघको वार्षिक कार्यक्रम अनुसार फागुन ४ देखि ११ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा राष्ट्रिय महिला तथा पुरुष हक्की प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको हो ।
प्रतियोगितामा पुरुषतर्फ ६ टिम र महिलातर्फ ५ टिम प्रतिस्पर्धा गर्नेछन्, जसमा
पुरुषतर्फ मधेश प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश, बागमती प्रदेश, सुदुर पश्चिम प्रदेश र नेपाल पुलिस क्लब सहभागी छन् भने महिलातर्फ कोशी प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश, सुदुर पश्चिम र बागमती प्रदेश टिमको सहभागिता रहने छ ।
पुरुष र महिलातर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमलाई क्रमशः रुपैयाँ ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै विधागत उत्कृष्ट खेलाडीलाई जनही रुपैयाँ ५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई रुपैयाँ २ हजार नगद पुरस्कार दिइने र प्रतियोगिता सञ्चालनका लागि करिब ४० लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ ।