ट्राफिक प्रहरीको छानबिन गर्नु अत्यावश्यक

8.6k Shares

बारा। बाराको कलैया क्षेत्रमा ट्राफिक प्रहरीको व्यवहारबारे स्थानीय बासिन्दा र सवारी चालकहरूबाट आइरहेका गुनासा अत्यन्तै चिन्ताजनक देखिएका छन्। विशेषगरी कलैया–बरियारपुर सडकखण्डअन्तर्गत कलैया उपमहानगरपालिका–१४ लक्ष्मिनिया नजिक रहेको अस्थायी ट्राफिक प्रहरी पोस्टमा भारतीय नम्बर प्लेट भएका मोटरसाइकल तथा सवारी साधनहरूलाई लक्षित गरी अनावश्यक रूपमा रोकिने र विभिन्न बहानामा रकम असुली गरिने गरेको भन्ने आरोप सार्वजनिक रूपमा उठिरहेको छ।

स्थानीयहरूका अनुसार ट्राफिक जाँचको नाममा ब्लुबुक, सवारी चालक अनुमति पत्र तथा मादक पदार्थ सेवन (मापसे) परीक्षणको बहाना देखाएर सवारी चालकहरूलाई त्रास देखाइ रकम मागिने गरिएको छ। केही चालकहरूको भनाइमा १०० रुपैयाँदेखि १,००० रुपैयाँसम्म रकम असुली हुने गरेको छ, तर सोबापत कुनै आधिकारिक रसिद वा जरिवाना पर्चा नदिइने गरिएको गुनासो छ। यसले वैधानिक जरिवाना प्रणालीमाथि नै प्रश्न खडा गरेको छ।

झन् चिन्ताको विषय त के छ भने साँझपख पैसा उठ्न सक्ने सवारी साधनलाई प्राथमिकताका साथ रोकिने गरेको भन्ने स्थानीयको आरोपले ट्राफिक व्यवस्थापनको मूल उद्देश्य नै ओझेलमा परेको आभास हुन्छ। दुर्घटना न्यूनीकरण, ट्राफिक अनुशासन र सवारी सुरक्षाभन्दा रकम संकलन प्राथमिकतामा परेको हो कि भन्ने आशंका पैदा भएको छ। यसले मुख्य शहर क्षेत्र मात्र होइन, ग्रामीण सडक खण्डको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त बन्ने जोखिम बढाउँछ।

यस्तै, ट्र्याक्टर, ट्रकमा ओभरलोड निर्माण सामग्री र म्याजिक भ्यानबाट समेत रकम लिइने गरेको चर्चा स्थानीयस्तरमा भइरहेको छ। यस्ता आरोप सत्य भएमा यो केवल व्यक्तिगत आचरणको विषय नभई समग्र संस्थागत विश्वसनीयतामाथि आँच पु¥याउने गम्भीर विषय हो।

त्यसैले यस विषयमा सम्बन्धित उच्च निकाय—जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा आन्तरिक अनुगमन संयन्त्रले निष्पक्ष छानबिन गर्नु अत्यावश्यक देखिन्छ। यदि आरोप निराधार हुन् भने त्यसको स्पष्ट खण्डन र पारदर्शी जानकारी सार्वजनिक गरिनुपर्छ; यदि तथ्य भेटिए भने संलग्नमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ।ट्राफिक प्रहरी जनताको सुरक्षाका लागि हो, त्रास र अविश्वास सिर्जना गर्नका लागि होइन भन्ने कुरा व्यवहारमै देखिनु आजको आवश्यकता हो।

सम्बन्धित समाचार