विश्व। जन्मदर बढाउन भियतनाम वा श्रीलङ्काबाट युवतीहरू ल्याउन सुझाव दिने दक्षिण कोरियाली अधिकारीलाई उनको पार्टीले निष्कासन गरेको छ ।
दक्षिणी जिन्डो काउन्टीका प्रमुख किम ही–सूको टिप्पणीलाई लिएर नागरिकमा आक्रोश बढेपछि सत्तारूढ डेमोक्र्याटिक पार्टीले निष्कासन गरेको बीबीसीले जनाएको छ । उनले गएको हप्ता ती महिलाहरूको विवाह ग्रामीण क्षेत्रका युवा पुरुषहरूसँग गर्न सकिने बताएका थिए । आफ्नो भनाइप्रति किमले माफी माग्दै आक्रोशलाई शान्त पार्न गरेको प्रयास असफल भएको छ ।
जिन्डो काउन्टीमा रहेको प्रान्त र नजिकैको शहरबीचको सम्भावित विलयको बारेमा छलफल गर्न टाउन हल बोलाइएको थियो । छलफलमा किमले आफ्नो टिप्पणी ग्रामीण क्षेत्रहरूमा जनसङ्ख्याका मुद्दाहरूलाई उजागर गर्ने उद्देश्यले गरिएको बताउँदै आफूले प्रयोग गरेको भाषा अनुपयुक्त भएको स्वीकारेका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
दक्षिण कोरिया विश्वकै सबैभन्दा कम जन्मदरसँग जुधिरहेको अवस्थामा दक्षिणी जिन्डो काउन्टीका प्रमुख किमले यो टिप्पणी गरेका हुन् । यही अवस्थामा देशको जनसङ्ख्या ६० वर्षमा आधाले घट्न सक्ने दक्षिण कोरियाली अधिकारीहरूले बताएका छन् ।
महिला र आप्रवासी अधिकारकर्मीहरूले किमको टिप्पणीको विरोधमा भोलि जिन्डो काउन्टी कार्यालय अगाडि र्याली गर्ने योजना बनाएका खबरमा उल्लेख छ ।