काठमाडौं । भिसाको उद्देश्य विपरीत नेपालमा दीर्घकालीन रूपमा बसोबास गर्दै शंकास्पद तथा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा अध्यागमन विभागले दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइनेमा एक जना अमेरिकी र एक जना चिनियाँ नागरिक रहेका छन्। अध्यागमन विभागका अनुसार उनीहरू दुवैले पटक–पटक भिसा परिवर्तन तथा नवीकरण गर्दै नेपालमा बसोबास लम्ब्याएको र भिसाले अनुमति नदिएका गतिविधि सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले दिएको जानकारीअनुसार दुवै घटनालाई गम्भीर रूपमा लिँदै विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। “भिसा कुनै निश्चित उद्देश्यका लागि दिइन्छ। सो उद्देश्य विपरीत गतिविधि गर्नु अध्यागमन कानुनको स्पष्ट उल्लंघन हो,” उनले भने।
चिनियाँ नागरिकमाथि व्यावसायिक भिसा दुरुपयोगको आरोप
अध्यागमन विभागको अनुसन्धानअनुसार नियन्त्रणमा परेका चिनियाँ नागरिक सन् २०१२ मा पहिलो पटक पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए। त्यसपछि उनी पटक–पटक गरी १३ पटकसम्म व्यावसायिक भिसा लिई नेपालमा बस्दै आएको पाइएको छ। उनी काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलस्थित पकनाजोलमा रहेको फेमेली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बसोबास गर्दै आएको खुलेको छ।
अनुसन्धानमा ती चिनियाँ नागरिकले नेपालमा छ वटा होटल तथा व्यावसायिक कम्पनी दर्ता गरेको तथ्य फेला परेको छ। ती कम्पनीहरूमा यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी तथा शाव जिअसुन होटल विथ रेस्टुरेन्ट रहेका छन्।
तर ती कम्पनीहरू दर्ता भए पनि वास्तविक लगानी, नियमित कारोबार, कर तिर्ने प्रणाली तथा श्रमिक व्यवस्थापन नदेखिएको अध्यागमनको प्रारम्भिक अनुसन्धानले जनाएको छ। अध्यागमन स्रोतका अनुसार ती कम्पनीहरू मुख्यतः व्यावसायिक भिसा प्राप्त गर्न र बसाइ अवधि लम्ब्याउने प्रयोजनका लागि मात्र दर्ता गरिएको आशंका गरिएको छ।
चार वर्षदेखि गैरकानुनी रूपमा अध्यापन कार्य
अध्यागमन अनुसन्धानले थप गम्भीर तथ्य पनि उजागर गरेको छ। ती चिनियाँ नागरिकले पर्यटक र व्यावसायिक भिसामा नेपालमा बसोबास गर्दै विगत चार वर्षदेखि विभिन्न विद्यालय तथा शैक्षिक संस्थामा अध्यापन तथा अन्य कार्य गर्दै आएको पाइएको छ।नेपालको अध्यागमन कानुनअनुसार विदेशी नागरिकले पर्यटक वा व्यावसायिक भिसामा तलब लिएर काम गर्न, अध्यापन गर्न वा रोजगारीमा संलग्न हुन पाउने व्यवस्था छैन। त्यसका लागि श्रम स्वीकृति सहितको कार्य भिसा अनिवार्य हुन्छ।“भिसाको प्रकृति हेर्दा उहाँले गर्नुभएको काम स्पष्ट रूपमा गैरकानुनी देखिन्छ,” अध्यागमन स्रोतले भन्यो, “यसले श्रम बजार, कर प्रणाली र राष्ट्रिय सुरक्षासम्म असर पार्न सक्छ।”
अमेरिकी नागरिकद्वारा गैरकानुनी बालगृह सञ्चालन
अर्कोतर्फ नियन्त्रणमा परेका अमेरिकी नागरिकमाथि गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको र धर्मसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप लागेको छ। अध्यागमन विभागका अनुसार ती अमेरिकी नागरिक सन् २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका थिए। केही समय नेपाल बसोबासपछि उनी स्वदेश फर्किएका थिए भने सन् २०२० मा पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको पाइएको छ।अनुसन्धानअनुसार उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा ‘क्यालभरी सर्भिस सेन्टर प्रालि’ नामक संस्था दर्ता गरेको देखिन्छ। तर कम्पनी दर्तामा उल्लेख गरिएको ठेगाना ललितपुरको सैंबु भए पनि वास्तविक गतिविधि भने ललितपुरकै गोदावरी नगरपालिकामा सञ्चालन हुँदै आएको पाइएको छ।
१२ जना बालिकालाई आश्रय, धर्मसम्बन्धी गतिविधिमा संलग्न
अध्यागमन विभागका अनुसार ती अमेरिकी नागरिकले गोदावरी नगरपालिकामा घर भाडामा लिएर कुनै पनि आधिकारिक अनुमति बिना बालगृह सञ्चालन गरेको पाइएको छ। उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना बालिकालाई आश्रय दिई राखिएको र उनीहरूलाई क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।अध्यागमन प्रवक्ता ढकालका अनुसार सो बालगृहमा बालगृह सञ्चालनसम्बन्धी कुनै आधिकारिक बोर्ड राखिएको थिएन। साथै भवनका भित्ताहरूमा क्रिश्चियन धर्मसँग सम्बन्धित सन्देशहरू पेन्ट गरिएको पाइएको छ।
“बालगृह सञ्चालन गर्न महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गत सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ,” ढकालले भने, “तर प्रारम्भिक रूपमा त्यस्तो कुनै अनुमति लिएको देखिएको छैन।”
भिसा प्रणालीको दुरुपयोगबारे गहिरिँदो चिन्ता
पछिल्ला वर्षहरूमा नेपालमा भिसाको उद्देश्य विपरीत बसोबास र गतिविधि गर्ने विदेशी नागरिकको संख्या बढ्दै गएको अध्यागमन विभागका अधिकारीहरू बताउँछन्। विशेष गरी पर्यटक, अध्ययन र व्यावसायिक भिसालाई दीर्घकालीन बसाइको माध्यम बनाउने प्रवृत्ति देखिएको उनीहरूको भनाइ छ।अध्यागमन ऐन, २०४९ अनुसार विदेशी नागरिकले आफ्नो भिसामा उल्लेखित उद्देश्यभन्दा बाहिर गई कुनै पनि कार्य गर्न पाउँदैनन्। सो ऐनको दफा १२ र १४ ले भिसा उल्लंघन गरेमा जरिवाना, थुनछेक वा देश निकाला गर्न सक्ने व्यवस्था गरेको छ।
अनुसन्धान प्रक्रिया र सम्भावित कारबाही
अध्यागमन विभागका अनुसार हाल दुवै विदेशी नागरिकमाथि विस्तृत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनीहरूको , भिसा इतिहास , कम्पनी दर्ता प्रक्रिया , आर्थिक कारोबार , कर कर विवरण , श्रम स्वीकृति , सामाजिक तथा धार्मिक गतिविधि सम्बन्धी कागजात परीक्षण भइरहेको छ। यदि भिसा उल्लंघन मात्र पुष्टि भएमा उनीहरूलाई देश निकाला (डिपोर्ट) गर्ने प्रक्रिया अघि बढाइनेछ। तर ठगी, छलकपट, बालअधिकार उल्लंघन वा अन्य फौजदारी अपराध पुष्टि भएमा मुलुकी अपराध संहिता र बालअधिकार ऐनअनुसार छुट्टै मुद्दा चलाइने अध्यागमन विभागले जनाएको छ।
अध्यागमन विभागले दुवै घटनाबारे सम्बन्धित देशका दूतावासलाई पनि जानकारी गराउने प्रक्रिया अघि बढाएको जनाएको छ। कूटनीतिक अभ्यासअनुसार विदेशी नागरिकलाई नियन्त्रणमा लिँदा सम्बन्धित दूतावासलाई सूचित गर्नुपर्ने व्यवस्था छ।
अध्यागमन र सुरक्षा मामिलाका विज्ञहरू भिसा दुरुपयोगको विषयलाई सामान्य प्रशासनिक त्रुटि मात्र नभई राष्ट्रिय सुरक्षा र सामाजिक स्थायित्वसँग जोडिएको विषय का रूपमा हेर्नुपर्ने बताउँछन्।पूर्व अध्यागमन अधिकारी एक जनाले भने, “धार्मिक गतिविधि, बालगृह सञ्चालन, शिक्षा क्षेत्र र व्यवसाय जस्ता संवेदनशील क्षेत्रमा विदेशी नागरिक संलग्न हुँदा कडा निगरानी आवश्यक हुन्छ। नत्र दीर्घकालमा सामाजिक असन्तुलन सिर्जना हुन सक्छ।”
चिनियाँ र अमेरिकी नागरिकको पछिल्लो घटना नेपालमा विदेशी नागरिकको बसोबास, भिसा व्यवस्थापन र अनुगमन प्रणालीमाथि गम्भीर प्रश्न उठाउने खालको छ। भिसा प्रणालीको दुरुपयोग रोक्न कडा कानुनी कार्यान्वयन, नियमित अनुगमन र अन्तरनिकाय समन्वय अपरिहार्य देखिएको छ।अध्यागमन विभागले यस घटनालाई उदाहरणका रूपमा लिँदै आगामी दिनमा भिसा जारी, नवीकरण र गतिविधि अनुगमनलाई अझ कडाइ गर्ने संकेत दिएको छ। अब अनुसन्धानले कुन मोड लिन्छ र कानुनी कारबाही कति प्रभावकारी हुन्छ भन्ने विषय चासोको केन्द्र बनेको छ।