काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा निर्वाचन अघि नै एमाले अध्यक्ष केपी ओलीले पराजय स्वीकार गरिसकेको बताएका छन् । एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा पराजय निश्चित छ भनेर ओलीले हार स्वीकार गरेको बताएका हुन् ।
उनले एकैदिन ७७ वटै जिल्लामा अधिवेशन उद्घाटन गर्ने एमालेको परिपाटीले नेतृत्व स्थापित नहुने पनि टिप्पणी गरे । अध्यक्ष नेपालले एमालेभित्र कुनै नीति पद्धति नरहेको भन्दै नेताको देवत्वकरण गर्ने, देउता जस्तो मान्ने प्रवृति हाबी भएको जिकिर गरे ।
उनले एमालेमा रहेका मानिस वौद्धिकताको विकास गर्ने आधुनिक ज्ञान र चेतना हासिल गर्ने व्यक्ति नभई पूजक र हनुमान प्रवृतिका मानिसमात्र रहेको बताए । अब ओलीबाट एमाले पार्टी नबन्ने र नचल्ने पनि बताए । उनले अहिले ओलीले गठबन्धनलाई भाड्न खोजेको आरोप पनि लगाए ।