काठमाडौँ उपत्यकामा ‘इन्टेलिजेन्स’को नाममा घुमुवा आतंक
सुरेन्द्र पाण्डे
काठमाडौँ । नेपाल प्रहरी फेरि एकपटक गम्भीर विवादको केन्द्रमा तानिएको छ। काठमाडौँ उपत्यकाभर ‘इन्टेलिजेन्स’ र ‘सूचना संकलन’को नाममा सादा पोसाकमा परिचालित एक प्रहरी हवलदार घुस लिएको आरोपमा पक्राउ परेसँगै प्रहरी संगठनभित्र गहिरो जरो गाडेर बसेको घुमुवा प्रणाली, संरक्षणको राजनीति र दण्डहीनताको संस्कृति फेरि उजागर भएको छ ।
पक्राउ पर्ने प्रहरी कर्मचारी हुन् , हवलदार धिरेन विष्ट। उनी हाल काठमाडौँ उपत्यका प्रहरी कार्यालयअन्तर्गत सादा पोसाकमा परिचालित प्रहरी कर्मचारी थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतका अनुसार, लागुऔषध कारोबारमा संलग्न व्यक्तिसँग ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि विष्टलाई पक्राउ गरिएको हो। हाल उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखी अनुसन्धान भइरहेको छ। तर यो घटना केवल एउटा हवलदारको व्यक्तिगत भ्रष्ट्राचारको कथा मात्र होइन। यो कथा हो , नेपाल प्रहरीभित्रको घुमुवा संरचना कसरी अपराध, घुस र शक्ति दुरुपयोगको कारखाना बनेको छ भन्ने यथार्थको।
पाँच वर्षअघि पनि हुन्डी लुटेको आरोप, फेरि सादा पोसाकमा कसरी ?
हवलदार धिरेन विष्ट प्रहरी संगठनका लागि नयाँ नाम होइनन्। पाँच वर्षअघि, २०७७ असार महिनामा, उनी न्युरोड क्षेत्रमा हुन्डी कारोबारसँग सम्बन्धित १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए। त्यो बेला पनि उनी जिल्ला प्रहरी परिसर काठमाडौँमै कार्यरत घुमुवा प्रहरी थिए।
त्यसबेला उनको गिरफ्तारीले पनि ठूलो तरंग ल्याएको थियो। घुमुवा प्रहरीले नै हुन्डी कारोबारीलाई पक्राउ गर्ने नाममा रकम लुटेको आरोप लाग्नुले प्रहरी संगठनको छविमा गम्भीर आघात पु¥याएको थियो। तर, पछि उक्त मुद्दामा विष्टले सफाइ पाए। सफाइ पाएसँगै उनी पुनः प्रहरी सेवामा फर्किए।यहाँबाट प्रश्न सुरु हुन्छ , एकपटक गम्भीर आरोपमा पक्राउ परिसकेको प्रहरी कर्मचारीलाई फेरि सादा पोसाकको संवेदनशील जिम्मेवारी कसरी दिइयो ?के सफाइ पाउनु नै नैतिक रूपमा पुनः ‘इन्टेलिजेन्स’मा खटिन योग्य हुनु हो ?
उपत्यका प्रहरी कार्यालयका स्रोतहरूका अनुसार, तत्कालीन एआईजी टेकबहादुर तामाङ उपत्यका प्रहरी प्रमुख हुँदा विष्टलाई सादा पोसाकमा खटिने ‘इन्टेलिजेन्स’को जिम्मेवारी दिइएको थियो। प्रहरीभित्र ‘इन्टेलिजेन्स’, ‘सूचना संकलक’, ‘सिभिल टोली’ वा ‘क्राइम टोली’ जस्ता नाम दिइए पनि व्यवहारमा यी सबै घुमुवा टोलीकै रूपान्तरण भएको बताइन्छ।एक वरिष्ठ प्रहरी अधिकृत भन्छन् , “नाम जे दिए पनि घुमुवा घुमुवै हो। यी टोलीहरू नियन्त्रणभन्दा बाहिर छन्। कसले के संकलन गर्छ, कसलाई कति दबाब दिन्छ, माथिसम्म कति बुझाउँछ—सबै अनौपचारिक हुन्छ।”
घुमुवा प्रहरी : सूचना संकलक कि आर्थिक संकलनकर्ता ?
नेपाल प्रहरीमा घुमुवा प्रणाली वर्षौंदेखि विवादको विषय बन्दै आएको छ। आधिकारिक रूपमा भने घुमुवा प्रहरीको कुनै स्पष्ट संरचना, कार्यविवरण र जवाफदेहिता छैन। तर व्यवहारमा, घुमुवा प्रहरीलाई बजार, लागुऔषध, जुवा, हुन्डी, अवैध कारोबार र ‘संवेदनशील’ क्षेत्रको अनौपचारिक निगरानीका लागि प्रयोग गरिन्छ।
तर यथार्थ के हो भने , धेरैजसो घुमुवा प्रहरी सूचना भन्दा ‘आर्थिक संकलन’मा केन्द्रित हुने गरेका छन्। व्यापारी, होटल, क्लब, लागुऔषध कारोबारीदेखि साना अपराधीहरूसम्मसँग मासिक ‘सेटिङ’ गरिने आरोप बारम्बार लाग्दै आएको छ। घुमुवा प्रहरीमार्फत उठेको रकम कार्यालय प्रमुखसम्म पुग्ने प्रहरी संगठनभित्रकै अधिकारीहरू स्वीकार्छन्—तर औपचारिक रूपमा कसैले बोल्दैन।
हाकिम जोगिने, सिपाही फस्ने पुरानै रोग
हवलदार धिरेन विष्ट पक्राउ पर्नु पनि यही संरचनागत समस्याको निरन्तरता भएको प्रहरी वृत्तमा चर्चा छ। जब–जब घुमुवा प्रहरी विवादमा पर्छन्, कारबाहीको घेरामा सधैँ तल्लो तहका प्रहरी मात्र पर्छन्।एक पूर्व प्रहरी अधिकारी भन्छन् , “घुमुवा कसैको व्यक्तिगत रहरले बन्दैन। कार्यालय प्रमुखको स्वीकृति, संरक्षण र निर्देशनबिना सम्भव छैन। तर कारबाही हुँदा सधैँ घुमुवा मात्र दोषी देखाइन्छ।”
नेपाल प्रहरी प्रधान कार्यालयले बेला–बेलामा छानबिन समिति बनाउने, घुमुवा हटाउने, सादा पोसाक नियन्त्रण गर्ने निर्णय गरे पनि कार्यान्वयन कहिल्यै स्थायी हुन सकेको छैन। किनकि, छानबिनको दायरामा परिचालन गर्ने हाकिमहरू प्रायः पर्दैनन्।
प्रहरी स्रोतका अनुसार, हवलदार विष्टले लागुऔषध कारोबारमा संलग्न व्यक्तिसँग ‘मुद्दा मिलाइदिने’ आश्वासन दिएर ४ लाख रुपैयाँ लिएको आरोप छ। उक्त रकम लिएको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।हाल अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन । तर स्रोतहरूका अनुसार,घुस रकम नगदमा लिइएको , माथिसम्म बुझाइएको वा नबुझाइएको विषय पनि अनुसन्धानको दायरामा रहेको , विष्टको अघिल्लो र वर्तमान सम्पत्ति विवरण समेत केलाइँदै गएको छ ।
प्रहरी संगठनभित्रै उठेको असहज प्रश्न
यस घटनाले उपत्यका प्रहरी कार्यालयभित्रै गम्भीर असहजता सिर्जना गरेको छ। केही इमानदार प्रहरी कर्मचारीहरू खुलेर भन्न थालेका छन् , “घुमुवा प्रणाली नहटाएसम्म प्रहरी कहिल्यै सुध्रिँदैन।” तर डर पनि उत्तिकै छ। किनकि, घुमुवा प्रहरी र उनीहरूलाई संरक्षण गर्ने उच्च अधिकारीहरूविरुद्ध बोल्नु भनेको आफ्नै करियर जोखिममा हाल्नु सरह हो।
घुमुवा किन बदनाम छन् ?
घुमुवा प्रहरीको कारण नेपाल प्रहरी किन सधैँ बदनाम हुन्छ ? कारणहरू स्पष्ट छन् , न लिखित आदेश, न स्पष्ट कार्यविवरण , कसले के गर्छ, कसलाई रिपोर्ट गर्छ भन्ने स्पष्ट छैन , अवैध कारोबारसँग प्रत्यक्ष सम्पर्क , माथिल्लो तहको मौन समर्थन र कारबाही सधैँ कमजोर र चयनात्मक हो।सुरक्षा विज्ञहरूका अनुसार, अब पनि यदि प्रहरी सुधारको कुरा गम्भीर रूपमा सोच्ने हो भने , सादा पोसाक÷घुमुवा प्रहरीको स्पष्ट कानुनी आधार बनाउनुपर्छ , परिचालन गर्ने कार्यालय प्रमुखलाई पनि जवाफदेही बनाउनुपर्छ , आर्थिक कारोबारको शून्य सहनशीलता नीति लागू गर्नुपर्छ , स्वतन्त्र छानबिन संयन्त्र स्थापना गर्नुपर्छ , विगतमा विवादित प्रहरीलाई संवेदनशील जिम्मेवारी नदिने नीति आवश्यक छ
हवलदार धिरेन विष्ट पक्राउ पर्नु एउटा व्यक्ति विशेषको गल्ती मात्र हो कि पूरै घुमुवा प्रणालीको असफलताको प्रमाण ? यदि प्रहरी प्रधान कार्यालयले फेरि पनि एक जना हवलदारलाई बलिको बोका बनाएर माथिल्ला तह जोगाउने नीति दोहो¥यायो भने, यो घटना पनि विगतका दर्जनौँ प्रकरणझैँ फाइलमै सीमित हुनेछ।तर यदि यसपटक साँच्चै सुधारको आँट गरियो भने, धिरेन विष्ट प्रकरण नेपाल प्रहरी सुधारको टर्निङ प्वाइन्ट पनि बन्न सक्छ। प्रश्न केवल एउटै हो , के प्रहरी संगठन यो प्रश्नको सामना गर्न तयार छ ?