सम्पादक समाज नेपालद्वारा नेपाल, हमाल र मानन्धर गोविन्द वियोगी पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत, वस्ती र आचार्य सम्मानित

9.2k Shares

काठमाडौँ । सम्पादक समाज नेपालद्वारा आफ्ना संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार विभिन्न पत्रकारहरुलाई सम्मान तथा नगदसहित पुरस्कृत गरेको छ ।
वियोगीको २०औँ स्मृति दिवसका अवसरमा माघ ३ गते शनिबार शिवपुरी गाउँपालिका–७ सुइरेचौर, नुवाकोटमा आयोजित एक समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको हो । 

jagat 1.jpg
‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार–२०८२’बाट रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा.जगत नेपाललाई प्रदान गरिएको थियो । नेपाललाई नगद २५ हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो । 
यस्तै ‘गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार–२०८२’ भने वातावरण संरक्षण तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा पत्रकारितामार्फत् गरेको योगदानको मूल्यांकन गर्दै गोरखापत्र दैनिककी पत्रकार चाँदनी हमाल तथा नेपाल भाषामार्फत् पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ‘शुक्रवाः या तँसापौ’ साप्ताहिकका स्तम्भकार राजेन्द्र मानन्धरलाई प्रदान गरिएको थियो । हमाल र मानन्धरलाई जनही १५ हजार एक रुपैयाँका दरले सम्मान पत्रसहित सम्मानित गरिएको थियो । यस्तै, पूर्वराष्ट्रपति रामवरण यादवबाट वरिष्ठ पत्रकार शरदचन्द्र वस्ती र सुदर्शन आचार्यलाई ‘सम्पादक समाज नेपाल सम्मान’द्वारा सम्मानित गरिएको थियो ।
समाजका अध्यक्ष पुरु रिसालको अध्यक्षतामा भएको उक्त पुरस्कार प्रदान तथा सम्मान समारोहमा पूर्वराष्ट्रपति यावदले लोकतन्त्रलाई बलियो बनाउन आजको वर्तमान अवस्थामा पत्रकारिताको भूमिका अझै बढेर गएको बताएका थिए । उनले वियोगीले लोकतन्त्र स्थापनामा पत्रकारितामार्फत् खेलेको भूमिका उल्लेखनीय रहेको स्मरण गरेका थिए ।समारोहमा सम्मानित व्यक्ति सुदर्शन आचार्यले पत्रकार सत्यको पक्षमा उभिनुपर्नेमा जोड दिँदै कोही रिसाउला भनेर सत्य लुकाउन नहुने बताए । अर्का सम्मानित व्यक्ति वस्तीले अहिलेको पत्रकारितामा मूल तत्व डाइभर्ट भएको बताउँदै महत्वपूर्ण सूचनाहरु ख्याल ठट्टाको विषय बन्न पुगेकोमा चिन्ता प्रकट गरेका थिए । उनले भने, आजको अवस्थामा पत्रकार आफैँले आफू कसैको समर्थक वा विरोधी छु की, पक्षपाती छु की, दलाली पो गरिरहेको छु की, भनेर सोच्नुपर्ने अवस्था आएको बताएका थिए ।
उनले पहिले स्रोतमा पत्रकारको मात्रै पहूँच हुँदा समस्या नहुने गरेको तर अहिले स्रोतमा सबैको पहूँच पुगेकाले पत्रकारितामा अझै चुनौती बढेको बताएका थिए ।
पुरस्कृतहरुका तर्फबाट बोल्दै रत्न राज्यलक्ष्मी क्याम्पस, पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. जगत नेपालले पत्रकारिता खस्किँदा समाजमा असर गर्ने भएकाले यसलाई आलोचनाभन्दा पनि रेस्क्यु गर्नुपर्ने बताएका थिए । उनले सम्पादकहरुले पत्रकारका लागि भ्याकेन्सी खोल्नुभन्दा पनि इन्टर्न राखेर चलाउने गरेको जानकारी गराएका थिए ।
सो कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले सम्पादक समाज नेपालसँग जोडिएपछि शिवपुरी क्षेत्रमा पर्यटकहरुको आवागमन बार्षिक २५÷३० हजार आन्तरिक पर्यटक आउने गरेकोमा सम्पादक समाजसँग हाम्रो गाउँपालिका जोडिएपछि १ लाख भन्दा बढी आन्तरिक पर्यटक बढेको जानकारी गराएका थियो ।
सम्पादक नेपालसँग जोडिएपछि पत्रकारहरूले लेखेका समाचारकै कारण प्रचारप्रसार हुँदा अहिले एक लाखभन्दा बढी आन्तरिक तथा वाह्य पर्यटक भित्रिएको भन्दा खुसी व्यक्त गरेका थिए । उनले यहाँका नागरिकको दैनिकी उकास्न कृषि र पर्यटनलाई जोडेर गाउँपालिकाले काम गरिरहेको जानकारी दिए ।
यस्तै, प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइरालाले पुँजी र प्रविधिको चेपुवामा पत्रकारिता परिरहेको उल्लेख गर्दै मर्यादित बनाउने कोशिष जारी रहेको बताए ।
अध्यक्ष कोइरालाले भने, “प्रविधिले फड्को मारिरहेको छ तर पत्रकारिताप्रतिको विश्वसनीयता अफ्ठेरो स्थितिमा आएको छ, अबको पुस्तालाई मर्यादित पत्रकारितामा डोर्याउन सम्पादक समाजको महत्वपूर्ण भूमिका हुनुपर्छ।”
नेपाल अमेरिका पत्रकार समाजका अध्यक्ष टंक पन्तले अहिले पत्रकारहरुलाई दिइएको पुरस्कार र सम्मान आमपत्रकारकै सम्मान भएको बताए
समाजका संरक्षक किरण बैद्यले अहिले पत्रकारिता चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै एउटाबाट जे सूचना बाहिरियो अरुले पनि त्यसको भेरिफाई नै नगरी हाल्ने गर्दा थप मारमा परेको बताए । पत्रकार तथ्य पत्ता लगाउनतर्फ केन्द्रीत हुनुपर्नेमा उनको सुझाव थियो ।
समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले यो ठाउँ मर्यादित पत्रकारिताको विमर्श गर्ने थलो भएको उल्लेख गर्दै अहिले सन्सारभरी नै पत्रकारिताको मूल्य मान्यताबारे ठूलो बहस चलिरहेको बताए ।

jagat.jpg
उनले सूचना र प्रविधिको विकास र खुला समाजको आँधिहुरीले पत्रकारितालाई अलि असजिलो बनाएको प्रतिक्रिया दिए । समाजका महासचिव श्याम डोटेलले स्वर्गीय पत्रकार वियोगीको इच्छा पूरा गर्नेतर्फ समाजले काम गरिरहेको जानकारी गराएका थिए । उनले प्रिन्टको अध्ययन केन्द्र बनाइएकोमा अब विद्युतीय पुस्तकालय बनाउने चरणमा अघि बढेको र पर्यटन विकास तथा जलवायु परिवर्तन न्यूनीकरणमा पनि संस्थाले काम थालेको जानकारी गराएका थिए । 
समाजका कोषाध्यक्ष माधव दुलालले अहिले फिल्डमा खटिने पत्रकारको कमि भएकाले पनि तथ्यपरक र खोजी समाचारको कमि आएका बताएका थिए ।

सम्बन्धित समाचार