रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा तीन हजार ५२७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना छनौट नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति रौतहटले जिल्लाका चार निर्वाचन क्षेत्रमा खटाउन योग्य नेपाली नागरिकबाट पुष २४ गते दरखास्त आह्वान गरेको छ ।
निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समिति रौतहटले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसँग समन्वय गर्दै निर्वाचन प्रहरीका लागि आवेदन प्रक्रिया सुरु गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।
१८ वर्ष पूरा भइसकेका र ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जारी सूचनामा उल्लेख गरिएको छ । २०२८ माघ १ गते देखि २०६४ माघ १ गते सम्म जन्म मिति भएकाले आवेदन दिन सक्ने र आवेदन दिने अन्तिम मिति आगामी माघ १ गतेसम्म तोकिएको छ ।
कुल माग पद सङ्ख्या तीन हजार ५२७ जना मध्ये नेपाल प्रहरी तर्फ तीन हजार ४६६ जना र सशस्त्र प्रहरी तर्फ ३ सय ८५ जना छनौट गरिने रौतहटका प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो ।
सबैलाई सहज हुने र भिडभाडलाई रोक्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाका चार स्थानबाट आवेदन दिने व्यवस्था मिलाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया, विजयपुरबाट आवेदन फारम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्कीले बताउनुभयो ।
दरखास्त फाराम यही माघ १ गतेसम्म (सार्वजनिक बिदाका दिन समेत) बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बुझाउन सकिने उहाँले जानकारी दिनुभयो ।
नेपाली नागरिक भएको, साधारण लेखपढ गर्न सक्ने, शारीरिक तथा मानसिक रुपले स्वास्थ्य, भर्ना हुने समयमा कुनै राजनीतिक दलको सदस्य नभएको, महिलाको हकमा गर्भवती नभएको लगायतका आबश्यक योग्यता रहेको छ भने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सेवाबाट निवृत्तिभरण वा उपदान प्राप्त वा पूर्व वनरक्षक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालमा २०८१ माघ १ देखि २०८२ पुष मसान्त सम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण, यस अघि सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भइ सन्तोष जनक काम गरेको वा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरि सेवा निवृत भएका नेपाली नागरिकलाई छनौटमा प्राथमिकता दिइने जारि सूचनामा उल्लेख गरिएको छ ।
रौतहटमा अहिले चार लाख ३६ हजार ६११ जना मतदाता रहेका छन् । आगामी फाल्गुन २१ गते हुने निर्वाचनको लागि कुल दुई सय ७७ वटा मतदानस्थल र पाँच सय ४१ वटा मतदान केन्द्र कायम भएको छ ।