अर्थतन्त्रमा रेमिट्यान्सको बाढी : ६ महिनामै १० खर्ब भित्रियो, महँगी र ब्याजदरमा गिरावट

1k Shares

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार मुलुकको बाह्य क्षेत्र निकै बलियो देखिएको छ भने आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन् । 

विशेषगरी विदेशबाट आउने रेमिट्यान्समा आएको उछाल र बैंकको ब्याजदर तथा महँगीमा आएको गिरावटले अर्थतन्त्रलाई राहत दिएको सरकारी तथ्यांकले देखाएको छ ।

रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक सुधार
मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा यो वर्ष चमत्कारिक सुधार देखिएको छ । समीक्षा अवधिमा विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स ३९.१ प्रतिशतको उच्च दरले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्समा आएको यो बाढीले मुलुकको विदेशी विनिमय सञ्चिति र शोधनान्तर स्थितिमा पनि सकारात्मक प्रभाव पारेको छ ।

हाल मुलुकसँग २२ अर्ब ४७ करोड अमेरिकी डलर बराबरको विदेशी विनिमय सञ्चिति रहेको छ । त्यस्तै, देशबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा छ । यसले मुलुकको बाह्य क्षेत्रको स्थायित्व निकै बलियो अवस्थामा रहेको पुष्टि गर्छ ।

महँगी र ब्याजदर दुवै ओरालो
सर्वसाधारण र उद्योगी व्यवसायीका लागि राहतको खबर के छ भने बजार महँगी र बैंकको ब्याजदर दुवैमा उल्लेख्य कमी आएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) घटेर १.७ प्रतिशतमा सीमित भएको छ ।

ब्याजदरतर्फ हेर्दा वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा लिने औसत ब्याजदर एकल अंकमा झर्दै ७.१२ प्रतिशत कायम भएको छ । केही समयअघिसम्म दोहोरो अंकमा रहेको ब्याजदर घट्नुले लगानीकर्तालाई राहत मिलेको छ । निक्षेपको औसत ब्याजदर पनि ३.५६ प्रतिशतमा झरेको छ भने अन्तर बैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित छ । ९१ दिने ट्रेजरी बिलको ब्याजदर २.३५ प्रतिशतमा झर्नुले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको संकेत गर्छ । नेपाल राष्ट्र बैंकले बजारबाट २ खर्ब ८६ अर्ब रुपैयाँ भन्दा बढी तरलता प्रशोचन गरेको तथ्यांकले पनि बैंकहरूसँग लगानीयोग्य रकम थुप्रिएको देखाउँछ ।

आर्थिक वृद्धि र क्षेत्रगत सुधार
विश्व अर्थतन्त्र ३.३ प्रतिशत र छिमेकी भारत ७.३ तथा चीन ५ प्रतिशतले बढ्ने प्रक्षेपण भइरहँदा नेपालको आर्थिक वृद्धिदर भने मध्यम रहने देखिएको छ । आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.० प्रतिशत रहने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ ।

क्षेत्रगत रूपमा हेर्दा उद्योग क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ । ऊर्जा र निर्माण क्षेत्रमा बढेको सक्रियताका कारण उद्योग क्षेत्र ५.४४ प्रतिशतले विस्तार हुने अनुमान छ । सेवा क्षेत्रमा पनि पर्यटन र व्यापारमा भएको सुधारले ३.०३ प्रतिशतको वृद्धि देखिएको छ । यद्यपि, धान उत्पादनमा आएको कमीले गर्दा कृषि क्षेत्रको विस्तार भने १.३६ प्रतिशतमा खुम्चिने देखिएको छ । मकै, कोदो र फापर जस्ता बालीको उत्पादन बढे पनि मुख्य बाली धानको उत्पादन घट्दा कृषि क्षेत्र प्रभावित भएको हो ।

व्यापार घाटा र सेयर बजार
वैदेशिक व्यापारतर्फ निर्यातमा उच्च वृद्धि देखिएको छ । कुल वस्तु निर्यात ४३.८ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ नाघेको छ । तर, सोही अनुपातमा आयात पनि १४.२ प्रतिशतले बढ्दा व्यापार घाटा भने फराकिलो बन्दै गएको छ । समीक्षा अवधिमा व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ ।

पुँजी बजारमा पनि सुधारको संकेत देखिएको छ । नेप्से सूचकांक २६४१.४४ बिन्दुमा कायम भएको छ भने कुल बजार पुँजीकरण ४४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूको संख्या २८४ पुगेको छ ।

बैंकिङ क्षेत्रतर्फ निजी क्षेत्रमा जाने कर्जा ६.७ प्रतिशतले बढेर झन्डै ५७ खर्ब पुगेको छ भने निक्षेप संकलन ५.७ प्रतिशतले बढेर ७६ खर्ब ८१ अर्ब रुपैयाँ नाघेको छ । समग्रमा अर्थ मन्त्रालयको यो अर्धवार्षिक समीक्षाले बाह्य क्षेत्र र वित्तीय परिसूचकहरू बलियो देखिए पनि आन्तरिक उत्पादन र आर्थिक वृद्धिको गति भने अझै सुस्त नै रहेको देखाएको छ ।

सम्बन्धित समाचार