काठमाडौं – राजधानीको ठमेलस्थित क्यासिनोमा प्रविधियुक्त कन्ट्याक्ट लेन्स (आइलेन्स) प्रयोग गरी जुवामा ठगी गरेको अभियोगमा पक्राउ परेका सात जनामध्ये चार जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। एक चिनियाँ नागरिक र दुई नेपाली महिलालाई भने धरौटीमा रिहा गरिएको छ।
काठमाडौं जिल्ला अदालतले आइतबार सुनुवाइपछि भारतीय नागरिक चार जनालाई अनुसन्धानको बाँकी प्रक्रिया पूरा नहुँदासम्म थुनामा राख्न आदेश दिएको हो। अदालतको आदेशअनुसार चिनियाँ नागरिक च्यान म्यान चिङलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ भने नेपाली नागरिक चिजा खड्का र भवानी पाण्डेलाई जनही एक लाख रुपैयाँ धरौटी लिई छाडिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनास्टी इन्टरटेनमेन्ट प्रालि अन्तर्गत सञ्चालित क्यासिनोमा जुवा खेल्ने क्रममा ठगी भएको पुष्टि भएपछि अनुसन्धान अगाडि बढाइएको थियो। प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरूले विशेष प्रविधियुक्त आइलेन्स प्रयोग गरी कार्ड खेलमा अनुचित लाभ लिएको देखिएको प्रहरीले जनाएको छ।ती आइलेन्स सामान्य आँखाले नदेखिने विशेष चिन्ह वा संकेत पहिचान गर्न सक्ने किसिमका भएको प्रहरीको दाबी छ। सो प्रविधिको प्रयोगबाट खेलाडीले कार्डको अवस्था पहिल्यै थाहा पाउने र त्यसकै आधारमा ठूलो रकम जित्ने गरेको पाइएको छ।
घटनामा संलग्न रहेको अभियोगमा चिनियाँ, भारतीय र नेपाली नागरिक गरी सात जनालाई पक्राउ गरिएको थियो।धरौटीमा रिहा गरिएका च्यान म्यान चिङ (चिनियाँ नागरिक) पाँच लाख रुपैयाँ धरौटी , चिजा खड्का (नेपाली) एक लाख रुपैयाँ धरौटी , भवानी पाण्डे (नेपाली) एक लाख रुपैयाँ धरौटी छन्।पुर्पक्षका लागि थुनामा पठाइएका सुरेश महाजन – भारत, उत्तर पश्चिम दिल्ली , प्रमोद मौर्य – भारत, उत्तराखण्ड देहरादून विक्रम सिंह – भारत , दिनेश वर्मा – भारत, हरियाना छन् ।अदालतले अभियोगको गम्भीरता, ठगीको तरिका र अनुसन्धानमा असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो।
प्रहरीका अनुसार चिनियाँ नागरिक च्यान म्यान चिङ हङकङ वाङ पु फा युआन जोउका क्यासिनो सञ्चालकसमेत रहेका छन्। क्यासिनो सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित व्यक्ति नै ठगी प्रकरणमा जोडिएपछि अनुसन्धान थप संवेदनशील बनेको प्रहरीको भनाइ छ।प्रहरीले क्यासिनो व्यवस्थापन तहमा मिलेमतो भएको वा नभएको विषयमा पनि अनुसन्धान भइरहेको जनाएको छ।
यस घटनाले राजधानीका क्यासिनोहरूको सुरक्षा व्यवस्था र निगरानी प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। उच्च सुरक्षा व्यवस्था रहेको भनिने क्यासिनोभित्र प्रविधियुक्त उपकरण प्रयोग गरी ठगी हुनु चिन्ताको विषय भएको सुरक्षा निकायका अधिकारीहरू बताउँछन्।प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा क्यासिनो क्षेत्रमा विदेशी नागरिक संलग्न आर्थिक अपराधका घटनाहरू बढ्दै गएका छन्। विशेषगरी प्रविधिको प्रयोग गरी जुवा खेलमा ठगी गर्ने अन्तर्राष्ट्रिय समूह सक्रिय रहेको आशंका यस घटनाले पुष्टि गरेको प्रहरीको निष्कर्ष छ।
प्रहरीले बरामद आइलेन्स, मोबाइल फोन, नगद तथा अन्य डिजिटल सामग्रीको प्राविधिक परीक्षण गरिरहेको जनाएको छ। साथै अभियुक्तहरूबीचको सम्पर्क, रकमको स्रोत र अन्य क्यासिनोमा पनि यस्तै गतिविधि भएको वा नभएको विषयमा अनुसन्धान भइरहेको छ।पुर्पक्षका लागि थुनामा पठाइएका चार जनामाथि ठगी, संगठित अपराध तथा आर्थिक अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।धरौटीमा रिहा गरिएका व्यक्तिहरूलाई देश छाड्न नपाउने, अनुसन्धानमा सहयोग गर्नुपर्ने र अदालतमा नियमित उपस्थित हुनुपर्ने सर्त लगाइएको छ।
ठमेलजस्तो पर्यटकीय र आर्थिक गतिविधिको केन्द्रमा रहेको क्यासिनोमा भएको यो घटनाले क्यासिनो सञ्चालन, निगरानी प्रणाली र प्रविधियुक्त अपराध नियन्त्रणबारे पुनः सोच्न बाध्य बनाएको छ। अनुसन्धान अझै जारी रहेकाले यस प्रकरणमा थप व्यक्ति र तथ्य सार्वजनिक हुन सक्ने प्रहरीको भनाइ छ।