सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए हामी सहभागी हुन्छौँ र जित्छौँ : ओली

7.6k Shares

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरेका छन् ।  

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अझै पनि सरकारले चुनावको वातावरण बनाउन नसकेको भन्दै भयरहित र निष्पक्ष ढङ्गले चुनाव गराए आफूहरू सहभागी हुने र जित्ने दाबी गरेका हुन् ।

अझै पनि एमाले र कांग्रेस एक भएर चुनावमा जाने निर्णय गरे तोकिएको समयमा निर्वाचन गर्न नदिने धम्की सुनिएको उनले बताए ।

उनले नयाँ भनिएका केही दलहरूले आगामी २० वर्षसम्म पनि चुनाव जित्न नसक्ने तर्क गरे । अध्यक्ष ओलीले वर्तमान सरकार चुनावी वातावरण बनाउन छाडेर हेटौँडामा घर भत्काउन लागेको बताए । उन्माद र नशामा देश बन्न नसक्ने भन्दै उनले देश बनाउन सही व्यक्ति आउनुपर्ने उल्लेख गरे । 

त्यस्तै ओलीले असंवैधानिक तवरले सरकार गठन भएको र संसद् विघटन गरिएको दोहराउँदै प्रतिगमन सच्चाउन संसद् पुनर्स्थापना हुनुपर्नेमा जोड दिए । 

उनले भाद्र २३ र २४ गतेको घटना लामो समयदेखिको तयारीको उपज भएको बताए । उक्त घटनामा जेन-जी युवाहरूको कुनै भूमिका नरहेको भन्दै ओलीले देशद्रोही र अपराधीहरूले तोडफोड र आगजनी गरेको बताए । 

सम्बन्धित समाचार