बर्दिया । बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट व्यापक रूपमा चोरी–तस्करी भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरी बलको डिएसपी कमाण्डमा गुल्म स्थापना गरिएको भए पनि यही गुल्म मातहतका नाकाबाट दैनिक लाखौँ रुपैयाँ बराबरको सामान तस्करी हुने गरेको स्थानीयवासी तथा स्रोतहरूको दाबी छ।
सरकारले सीमा सुरक्षालाई प्रभावकारी बनाउन बर्दियाको कण्डपुरमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरेको हो। हाल उक्त गुल्मको नेतृत्व सशस्त्र प्रहरी बलका डिएसपी दिपेन्द्र गौलीले गरिरहेका छन्। गुल्म मातहत ६ वटा बिओपी तथा केही फरवार्ड बेस सञ्चालनमा छन्। कण्डपुरस्थित गुल्म मातहत फुटाहा , सानुडाँफे , जमुनी, गणेशपुर . कालाबन्जरा र कट्टी लगायतका बिओपी तथा फरवार्ड बेस रहेका छन् । यीमध्ये जमुनी, कालाबन्जरा र कट्टी बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्ड र फुटाहा, सानुडाँफे र गणेशपुर बिओपीमा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा सुरक्षा फौज परिचालित छन्।यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि तस्करी नियन्त्रण प्रभावकारी हुन नसकेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ।
गुल्मको क्षेत्राधिकार मातहत पर्ने भारतीय सीमावर्ती क्षेत्रमा फुटाहा र लोकाही बजार पर्दछन्। यी बजारहरू भारततर्फका ठूला व्यापारिक केन्द्रका रूपमा चिनिन्छन्। दैनिक उपभोग्य वस्तु, कपडा, किराना, इलेक्ट्रोनिक्स तथा अन्य करयोग्य सामग्रीहरू यही बजारबाट नेपालतर्फ अवैध रूपमा भित्रिने गरेको स्रोतहरूको भनाइ छ।स्थानीय स्रोतहरूका अनुसार तस्करीमा संलग्न हुनेहरूमा बाँकेको कोहलपुर र बाँकेको बैजनाथ गाउँपालिका क्षेत्रका व्यापारी तथा कारोबारीहरूको संलग्नता बढी रहेको बताइन्छ। भारतबाट ल्याइएका सामानहरू फुटाहा–गणेशपुर हुँदै मैनापोखर र बाँसगढी निस्किएर महेन्द्र राजमार्ग जोडिने गरेको जनाइएको छ। यही मार्गलाई तस्करहरूले सुरक्षित मार्गका रूपमा प्रयोग गर्ने गरेको आरोप छ।
स्थानीयवासीका अनुसार यस क्षेत्रबाट दैनिक रूपमा लाखौँ रुपैयाँ बराबरको सामान अवैध रूपमा नेपाल भित्रिने गरेको छ। यति ठूलो परिमाणको तस्करी भइरहँदा पनि सशस्त्र प्रहरी बलको गुल्मबाट प्रभावकारी नियन्त्रण नहुनुले सुरक्षा संयन्त्रकै भूमिकामाथि प्रश्न उठाएको छ।स्थानीय एक व्यापारीका अनुसार, “सानोतिनो तस्करी भए थाहा नहुन सक्छ, तर नियमित रूपमा सामान ओसारिँदा पनि नियन्त्रण नहुनु स्वाभाविक मान्न सकिँदैन।”
यस प्रकरणसँग जोडेर सशस्त्र प्रहरी बलका असई सोम शर्माको नाम विशेष रूपमा चर्चामा आएको छ। स्रोतहरूका अनुसार गुल्म प्रमुख डिएसपी दिपेन्द्र गौलीले असई शर्मालाई घुमुवा प्रहरीको रूपमा परिचालन गरेका छन्।आरोप अनुसार असई शर्मा गुल्मभित्रको आर्थिक कारोबार व्यवस्थापन हेर्ने भूमिकामा रहेको बताइन्छ। असई सोम शर्मा यसअघि पनि विवादमा तानिएका व्यक्ति हुन्। उनी विगत धेरै वर्षदेखि बाँके जिल्लामा सशस्त्र प्रहरी बलको गणमा कार्यरत रहँदै आएका थिए। सो अवधिमा उनी सशस्त्र प्रहरी गणका एसपीका घुमुवा र पछि बिओपी जैसपुरमा कार्यरत रहँदै डिआइजीका घुमुवा का रूपमा परिचालित थिए।त्यही समयमा उनीमाथि तस्कर तथा व्यापारीसँग रकम असुली गरेको आरोप लाग्दै आएको थियो।
स्रोतका अनुसार असई शर्मासँग सम्बन्धित अनेकौँ अडियो सार्वजनिक भएका थिए, जसमा तस्कर, व्यापारी तथा मातहतका अन्य घुमुवासँग रकम मागिएको भनिएको थियो। अडियो सार्वजनिक भएपछि सशस्त्र प्रहरी बल मुख्यालयले उनलाई छानबिनका लागि तानेको बताइन्छ।तर केही समयमै डिआइजी स्तरको दबाबमा उनी पुनः जैसपुर बिओपीमै फर्काइएको आरोप छ। यस घटनाले सशस्त्र प्रहरी संगठनभित्रको आन्तरिक अनुशासन र छानबिन प्रक्रियामाथि प्रश्न उठाएको थियो।
जेनजी आन्दोलन र त्यसपछिको परिस्थितिपछि मात्रै असई शर्मालाई मुख्य नाका जैसपुरबाट हटाएर बर्दियाको कण्डपुरस्थित गुल्ममा रमाना गरिएको स्रोतहरू बताउँछन्।तर सरुवा भएपछि पनि उनीमाथि तस्करीसँग जोडिएको आरोप कायमै रहेको छ। हाल उनी डिएसपी गौलीको नजिक रहेर काम गरिरहेको र आर्थिक कारोबार सम्हालिरहेको आरोप लाग्दै आएको छ।एक स्थानीय अगुवाका अनुसार, “सीमा सुरक्षाको जिम्मा पाएका निकायमाथि नै तस्करीको आरोप लाग्नु गम्भीर विषय हो। निष्पक्ष छानबिन हुनुपर्छ।”
बर्दियाको कण्डपुर, फुटाहा र गणेशपुर क्षेत्रका नाकाबाट भइरहेको भनिएको तस्करी, त्यसमा सशस्त्र प्रहरी गुल्मका अधिकारी र घुमुवा प्रहरीको भूमिकाबारे उठेका आरोपले सीमा सुरक्षाको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। यसले सशस्त्र प्रहरी बलको छवि र सीमा सुरक्षा नीतिमै असर पार्ने देखिन्छ।