सुनसरी, २१ पुस । २० पुसमा धरान स्थापना दिवस कार्यक्रमकाे उद्घाटनमा पुगे, प्रधानमन्त्री शेरबहादुर देउवा । दिवसका अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक बिदा नै दिएकाे थियाे ।
जब प्रधानमन्त्री देउवा 'धरान डे' कार्यक्रमलाई सम्बोधन गर्न पब्लिक हाई स्कुलको मञ्चमा उक्लिए । मञ्च अगाडि फरक दृश्य देखियो ।
एउटा हातमा नेपालको झण्डा अनि अर्को हातमा प्ले कार्ड । झण्डामा लेखिएको थियो- शुम्भ रक्षक नै निशुम्भ भक्षक अनि प्ले कार्डमा ‘गुम्नेछ नेपाल आमा’ शीर्षकको कविता । त्यही कविताको एक लाइनमा थियो ‘नो एमसीसी’
कवितामा लेखिएको थियो
कपाल सेतै फुलेका, उमेरले पाको देखिने ती व्यक्ति हुन् धरान उपमहानगरपालिका-७ का बासु चालिसे । ६६ वर्षीय चालिसे अमेरिकाले नेपाललाई दिने मिलेनियम च्यालेन्ज कर्पोरेशन अनुदान (एमसीसी) संसदबाट पास गर्न नहुने भन्दै विरोधमा आएका हुन् ।
एमसीसी देशको हितविपरीत रहेको भन्दै उनले देश निर्माणमा लागेका रक्षक नै भक्षक भएको र जनता जाग्नुपर्ने बताए ।
एमसीसीको विषय बाहिर आएदेखि करिब डेढ वर्ष अगाडिदेखि उनी झण्डा र कविता लेखिएको प्ले कार्ड लिएर हिँडिरहेका हुन् । झण्डाको अर्को पट्टी राहु र केतु लेखिएको छ । जसको अर्थ चन्द्रमा र सूर्यमा ग्रहण लागि सक्यो भन्दै देशलाई जोगाउनु पर्ने चालिसे बताउँछन् ।
तर, उनले प्रधानमन्त्री देउवालाई देखाउन लागेकाे प्लेकार्ड र झण्डा सुरक्षाकर्मीले खोसेका थिए । उनी यसअघि नेपाल बैंकमा जागिरे थिए ।