——— बसन्त कुँवर
कुनै पनि सरकार त्यो जति सुकै लोकप्रिय वा सशक्त किन नहोस्, प्रहरी–सेनाले साथ नदिने बित्तिकै वा यी फौज हार्ने बित्तिकै केही दिन वा घण्टाभित्रै ढल्छ वा असफल हुन्छ, किनकि राज्य सञ्चालनका मूल आधार नै शान्ति–सुरक्षामा अडेको हुन्छ।त्यसैले हो, अधिकांश राजा भएका शासनमा राजा आफैंले पनि फौजकै पोशाक लगाउने गर्दथे। नेपालमा राजा महेन्द्रका पालासम्म प्रहरीका आईजीपीहरूलाई समेत अवकाश भएर जाँदा गाडी, नगद आदि उपहार दिने र राजदूत आदि बनाएर पठाउने प्रचलन थियो। कारण, प्रहरी प्रमुखले त्यस शासनलाई जोगाउन सफल पार्न महत्वपूर्ण भूमिका हुन्थ्यो भने तिनलाई शासनका कतिपय गोप्य कुराहरू पनि थाहा हुन्थ्यो।
राजा वीरेन्द्रले भने यो कुरा नबुझी डी.बी. लामा जस्ता राजभक्त आईजीपीलाई भाइ धिरेन्द्रले बेलायती केटी राखेको र ती केटीलाई देश निकाला नगरेको आरोपमा षड्यन्त्रपूर्वक ढंगले अवकाश भइसकेपछि पनि जेल हाल्ने काम भयो। त्यही बिन्दुबाट प्रहरी संगठन कमजोर भई प्रहरीले सडक विद्रोह धान्न नसक्दा राजा आफैं सक्रिय राजा बाट संवैधानिक हुनुप¥यो। अझ राजा ज्ञानेन्द्रबाट त षड्यन्त्रपूर्वक प्रजातन्त्रलाई समर्थन गरेको भित्री रिसमा थुप्रै आईजीपीहरूलाई आफ्नो शासनकालमा अवकाशपछि मुद्दा नै लगाई थुन्ने सम्मको काम भयो, जसका कारण प्रहरी यति कमजोर भयो कि उनको आफ्नै शासन पनि सुरक्षाको कमजोरीकै कारण जोगिन सकेन। २४० वर्षको राजतन्त्र नै समाप्त भयो।
बहुदल आएपछि यस शासनका प्रधानमन्त्री र गृहमन्त्रीहरूले यो कुरा पनि बुझ्नुपथ्र्यो तर बुझेनन्, उल्टै प्रहरीलाई यति हेप्न र शोषण गर्न थाले कि त्यो संस्थालाई आफ्नै कार्यकर्ताभन्दा मुनि राख्न थाले। यसैका परिणाम प्रहरी कमजोर हुँदै गयो र दुई तिहाइका सरकार प्रमुखहरूले पनि शासन छोडी भागेर ज्यान जोगाउनुपर्ने अवस्था आयो। के.पी. ओलीको सरकार पनि सदनमा बहुमत नपुगेर होइन, सुरक्षा नपुगेरै ढलेको हो।
यद्यपि प्रहरी संगठन वा सुरक्षा फौजहरू कमजोर हुनुमा २०५० सालपछि चाकडीबाज, दलका क्याडर भएर काम गर्ने, गुट बनाएर प्रहरी संगठन सञ्चालन गर्ने, पैसा दिएर पैसा कमाउनकै लागि त्यो पदमा जाने र दललाई चुनाव जिताउन म्यान्डेट लिएर पद माग्ने आईजीपीहरूको पनि ठूलो भूमिका छ। तर पनि समग्र फौज सधैं शासकहरूका लागि राज्य सञ्चालनको प्रमुख आधार नै हुने गर्दछ।
मेरो प्रहरी जीवनको अनुभवः “यदि प्रहरी वा सुरक्षा प्रमुखहरूले त्यो फौजको, त्यो देश जोगाउन र शासन स्थिर पार्न कति सम्मको ठूलो महत्व हुन्छ भन्ने कुरा आफैंले नबुझे, उनीहरूले त्यो कुरा शासक र जनतालाई बुझाई त्यही क्षेत्रबाट फौजले के कस्तो सम्मान पाउनुपर्छ भन्ने कुरा बुझाउन नसके, त्यो फौज क्रमशः कमजोर भई शासन नै जाँदो रहेछ र शासन अस्थिर हुने बित्तिकै मुलुक कहिल्यै उँभो नलाग्ने रहेछ। अनि बारम्बार पीडित हुँदै रहेछन् ‘सोझा–साझा जनता र उद्योग व्यवसायीहरू’।”
फौज अनैतिक सरकारहरूका लागि “डर” को कारण पनि हुनु पर्छ, तर यहाँ कतै उल्टो त भएन ? कतै फौज अनैतिक सरकारको नै मतियार र सहयोगी त हुँदै आएन ? फौज कतै अनैतिक र भ्रष्ट सरकारलाई नै चुनाव जिताउन र पैसा उठाउन मद्दतगार त भएन ? यदि भयो भने कोबाट भयो ? सिपाहीबाट कि फौजका प्रमुखहरूबाट ? भविष्यमा नेपालमा स्थिर शासनका लागि यो विषय पनि हेरी मूल्यांकन गर्न र विगतमा गल्ती भएकै भए फौज र शासक दुवैबाट सच्याउन पनि जरुरी देख्छु।
फौजका प्रमुखहरूले फौजको गरिमा, अर्थ र महत्व राम्ररी बुझ्नुपर्छ। शासक समक्ष साह्रै हल्का पनि हुनु र देखिनु हुँदैन। अनैतिक शासकहरूका लागि त फौज “डर” को कारण नै हुनु पर्छ।
पूर्व एसएसपी